फिल्म ‘कान्छी’ को एक कार्यक्रमा बरिष्ठ कलाकार नीर शाहले अभिनेता दयाहाङ राईको तारिफमा भनेका थिए, ‘दयाहाङजस्तो अभिनेता ५० वर्षमा एकपटक जन्मन्छ ।’ नेपाली चलचित्र क्षेत्रका एक मुर्धन्य व्यक्तिले गरेको यो प्रशंसाको एक-एक शब्दले विशाल अर्थ बोक्छ । अभिनय जीवनमा दयाहाङका लागि योभन्दा ठूलो 'कम्प्लिमेन्ट' अरु हुनै सक्दैन ।
अभिनय यसरी मात्र गर्नुपर्छ भन्ने मानक नियम उनलै भत्काएका हुन् । हिरो भनेको चकलेटी हुनुपर्छ, सिक्स प्याक शरीर भएको हुनुपर्छ भन्ने मान्यतालाई तोड्ने पनि उनी नै हुन् । लुक्सले मात्र होइन अभिनय राम्रो गरेर पनि हिरोको छवि बनाउन सकिन्छ भन्ने सोच उनले नै निर्माण गरेका हुन् । नभए विपिन कार्कीजस्ता कलाकार सायदै नेपाली चलचित्र क्षेत्रले पाउने थियो ।

बरिष्ठ फिल्म निर्देशक तथा कलाकार तुलसी घिमिरे पनि नीर शाहको कुरामा सहमती जनाउँछन् । दयाहाङजस्तो अभिनेता नेपाली चलचित्र क्षेत्रले निकै कम पाउने उनको तर्क छ । फिल्म ‘आप्पा’ को फस्टलुक तथा रिलिज डेट घोषणा कार्यक्रममा तुलसीले उनलाई आफूले सोचेको भन्दा विपरित पाएको बताए । सँगै काम गर्नुभन्दा अगाडि दयाहाङ घमण्डी होलान् भन्ने उनलाई लागेको रहेछ ।
‘‘स्टार’ को नशा चढेको कलाकार होला भन्ने सम्झिएको थिएँ । यति प्यारो होला भनेर सोचेकै थिइनँ’’, उनले भने । निर्देशक घिमिरे उनलाई ‘स्टार’ को नशा नचढेको कलाकारको रुपमा ब्याख्या गर्छन् । उनी भन्छन्, ‘‘स्टार’ को एउटा नराम्रो नशा हुन्छ । अटोग्राफ र सेल्फी खिच्नेको भीडले ‘स्टार’ को नशा चढ्न थाल्छ । त्यो नशा नचढ्नु सबैभन्दा ठूलो कुरा हो । दयाहाङमा नशा चढेन ।’’
अनमोल गुरुङ निर्देशित फिल्म ‘आप्पा’ मा तुलसी र दयाहाङले सँगै काम गरेका छन् । जेठ २४ मा फिल्म रिलिज हुँदैछ । निर्देशक घिमिरेले नयाँ पुस्तासँग काम गर्दा फरक अनुभव बटुल्न पाएको बताउँछन् । अभिनेता दयाहाङ, तुलसी घिमिरेसँग एउटै फिल्ममा काम गर्न पाउनु आफ्नो लागि ठूलो उपलब्धि मान्छन् । उनका अनुसार, ‘आप्पा’ मा दुईको सहकार्य दोस्रो पटक हो ।

