चरित्र अभिनेतामा केही वर्ष कामेश्वर चौरासिया राम्रै विके । अभिनयमा अब्बल उनलाई फिल्ममा लिन निर्माता/निर्देशकले डेट लिएर समेत बस्ने गर्दथे । डिमान्ड राम्रो भएको बेला उनले पनि भटाभट फिल्म गरे । पारिश्रमिक राम्रो हात पर्दा उनले न भूमिका हेरे न त ब्यानर नै । हातमा आएका कुनै प्रोजेक्ट गुमाएनन् । केही फिल्म ठिकठाक चले भने धेरै असफल रहे ।
फिल्ममेकर्स आफूलाई लिन दौडधुप गरेको देख्दा उनलाई पनि लाग्यो अब स्ट्रगलको समय सकियो । तर, उनी जुन विन्दूमा पहिला थिए अहिले घुमिफिरी त्यही अवस्थामा आइपुगेका छन् । अर्थात् स्ट्रगलको समयमा । उनको हातमा ९ महिनादेखि फिल्म छैन । अफर आए पनि गेस्ट रोलको मात्र बढी आउँछ ।
पहिलोपोस्टसँगको अन्तर्वार्तामा उनले आफू स्ट्रगलको समयमा फर्किएको बताएका छन् । उनले हातमा फिल्म नभएपछि ५ महिनादेखि फेसबुक चलाएर मात्र बसेको यथार्थ खोलेका छन् । फिल्ममा व्यस्त हुँदा फेसबुक चलाउनु भनेको 'समयको नाश हो' सम्झने उनी अहिले त्यही फेसबुक समय विताउने सारथी बनेको छ ।
.jpg)
लिड रोल मात्र गर्ने अडानका कारण केमियो रोल अफर भएका फिल्म उनले गरेका छैनन् । अन्तर्वार्ताको क्रममा उनले सामाजिक सञ्जालमा अहिले आफ्नै फिल्म हेरेर दिन कटाइरहेको बताएका छन् । आफ्नै काममा खोट भएका कारण कामविहीन हुनु परेको दोष उनी आफैंमाथि थोपर्छन् ।
पछिल्लो रिलिज फिल्म 'अमेरिका बोइज' असफल भएपछि हातमा फिल्म पर्न छाडेको उनी बताउँछन् । उनले भनेका छन्, 'पुनः पहिलेजस्तै भोकै बसेर अभिनयको भोक मेटाउन लागी पर्ने अवस्था आएको छ ।' उनका अनुसार, अहिले उनी जीविकोपार्जनका लागि अरु कामको खोजीमा छन् ।
फिल्म 'पलाँस' रिलिजको समयमा ठूला मिडियालाई मात्र अन्तर्वार्ता दिने भन्दै फिल्मको प्रचारमा नहिँडेपछि उनमा घमण्ड सुरु भएको टिक्काटिप्पणी भएको थियो । फिल्म गर्ने तर प्रचारमा नाक-मुख नदेखाउने बानीका कारण पनि उनीप्रति निर्माता/निर्देशक असन्तुष्ट हुन थालेको चर्को आवाज सुनिएको थियो ।
दर्जन बढी फिल्ममा अभिनय गरिसकेका कामेश्वरको नयाँ फिल्म 'गरुड पुराण' प्रदर्शनको तरखरमा छ । फिल्म लगालग असफल भए पनि पारिश्रमिक चर्को बनाएका कारण उनको हातमा फिल्म पर्न छाडेको बताइन्छ । एउटा कलाकारलाई हातमा फिल्म नहुँदा कस्तो छटपटी हुन्छ ? सायद अब कामेश्वरले पनि बुझे होलान् ।

