अभिनेता अनमोल केसीको लिड अभिनय रहेको फिल्म ‘क्याप्टेन’ को दुई नयाँ पोस्टर सार्वजनिक भएको छ । फिल्मको फस्टलुक पोस्टर यसअघि नै सार्वजनिक भइसकेको थियो । नयाँ दुई पोस्टरमा अनमोललाई खेलाडी अवतारमा चित्रण गरिएको छ । एक पोस्टरमा हातमा फुटबल लिएर उनी खेल मैदानमा देखिएका छन् ।
अर्को पोस्टरमा जर्सीसहित देखिएका छन् । उनको साथमा अभिनेता द्वय सुनिल थापा र प्रशान्त ताम्राकार पनि फिचर्ड छन् । दुवै पोस्टरमा अनमोललाई एंग्री लुक्समा देख्न सकिन्छ । फागुन १७ गते रिलिज हुने फिल्मको बिहीवार पहिलो गीत सार्वजनिक हुँदैछ । यस फिल्मका लेखक तथा निर्देशक दीवाकर भट्टराई हुन् ।
.jpg)
निर्माण टिमले न यसअघि न अहिले, लिड दुई अभिनेत्रीलाई पोस्टरमा स्थान दिएको छैन । फिल्मको थिम अनुसार पोस्टर तयार पारिएका कारण अभिनेत्रीलाई समेट्न नसकिएको निर्देशक भट्टराई बताउँछन् । बिहीवार सार्वजनिक हुने गीतमा भने अनमोलले फिल्मका अभिनेत्रीसँग ठुम्का लगाएका छन् ।
गाउँदेखि राष्ट्रिय स्तरको खेलाडी बन्न एउटा युवाले गरेको संघर्षको कथा फिल्म ‘क्याप्टेन’ ले बोल्छ । यसमा अनमोल, इशानको भूमिकामा छन् । उनको अपोजिटमा उपासना सिंह ठकुरी र प्रियंका एमभी छन् । फिल्ममा सरोज खनाल, राजाराम पौडेल, विल्सन विक्रम राईलगायतका कलाकारहरुको पनि अभिनय छ ।
भुवन केसी निर्मित फिल्मको कथा सामिप्यराज तिमल्सिनाले लेखेका हुन् । उक्त फिल्ममा चन्द्र पन्तको द्वन्द्व, अर्जुन पोखरेलको संगीत, कविराज गहतराजको कोरियोग्राफी छ भने सम्पादनको जिम्मेवारी दिर्घ खड्काले सम्हालेका छन् । सुदीप बराल डिओपी रहँदा क्यामेरामेनमा नवराज उप्रेती छन् ।

