यही शुक्रबारबाट प्रदर्शनमा आउने तरखरमा रहेको कमेडी फिल्म ‘सुश्री सम्पत्ति’ को विदेशमा डिमान्ड बढ्न थालेको छ । गीतसंगीत र ट्रेलरले निर्माण गरेको हाइपका कारण फिल्म जापान, दक्षिण कोरिया र युरोपमा नेपाल प्रदर्शन अगावै बिक्री भइसकेको छ । अन्य देशमा पनि फिल्म प्रदर्शनका लागि कुरा भइरहेको निर्माताले बताएका छन् ।
फिल्मलाई जापान र कोरियोका लागि सुर्य कर्पोरेसनका बासुदेव लामिछाने र युरोपका लागि सुरज कार्कीले प्रदर्शनको अधिकार लिएका छन् । नेपाल रिलिजको केही दिनमा युरोपका विभिन्न सहर तथा जापान र कोरियामा फिल्म प्रदर्शन हुनेछ । दुई युवाले सुश्री र सम्पत्ति पाउन गर्ने संघर्षमा फिल्म आधारित छ ।
यसमा सलोन बस्नेत, सारा सिर्पाली, बिनोद न्यौपाने, प्रमोद अग्रहरी, राजाराम पौडेल लगायतको अभिनय रहेको छ । सुव्रत आचार्यको निर्देशनमा तयार भएको फिल्ममा प्रियंका कार्की विशेष भूमिकामा छिन् । रमेश त्वायना फिल्मका प्रस्तुतकर्ता हुन् । कथा निर्देशक सुव्रत आफैंले लेखेका हुन् ।
फिल्मको निर्मातामा विज्ञान राई, नुनम सुब्बा र रमन सिलाकार रहेका छन् । अभिमन्यू निरवी र निर्देशक आचार्यको डाइलग रहेको फिल्मको स्क्रिनप्ले अभिमन्यूकै रहेको छ । फिल्मलाई उपत्यकामा गोपालकाजी कायस्थ र मोफसलमा एफडी कम्पनीले वितरण गर्नेछ । फिल्मलाई भरत रेग्मीले सम्पादन गरिरहेका छन् ।

