
बलिउड अभिनेता आयुष्मान खुराना र अभिनेत्री भूमि पेडनेकरको जोडीलाई दर्शक निकै रुचाउँछन् । दुईले एकसाथ दुई फिल्ममा काम गरिसकेका छन् । फेरि यो कपललाई स्क्रिनमा देख्न पाइने भएको छ । फिल्म 'बाला' मा दुईको जोडी बाँधिएको भारतीय मिडियाले बताएका छन् । फिल्मको निर्माण दिनेश विजानले गर्दैछन् ।
उनले आयुष्मान र भूमि फिल्ममा अनुबन्ध भएको कुराको पुष्टि गरेका छन् । उनका अनुसार, फिल्ममा अभिनेता आयुष्मान एक म्याच्योर पुरुषको भूमिकामा देखिनेछन् । भने, अभिनेत्री भूमिले एक डस्की गर्लको रोल निभाउनेछिन् । फिल्मको माध्यमबाट समाजमा हुने रंग-भेदभावलाई देखाइनेछ ।
फिल्मलाई अमर कौसिलले निर्देशन गर्नेछन् । उनले भने, 'समाजमा बस्ने मानिसहरु बाहिरी सुन्दरताप्रति निकै आकर्षित हुन्छन् तर तिनीहरु असल व्यक्तिको बारेमा जान्न चाहँदैनन् । यस फिल्मले हामीलाई प्रसन्न तुल्याउनेछ र यो विषयमा सोच्न विवश गर्नेछ ।'
यो वर्ष निर्देशक अमरका लागि निकै सुखद रह्यो । राजकुमार राव र श्रद्धा कपूरको अभिनय रहेको फिल्म 'स्त्री' ले जबरजस्त कमाई गर्न सफल भयो । दर्शकले फिल्मले निकै रुचाएका थिए । यस्तै, आयुष्मान र भूमिको कुरा गर्ने हो भने यी दुईले यसअघि 'दम लगा के हईशा' र फिल्म 'शुभ मंगल सावधान' मा काम गरेका थिए ।

