राम्रो फेस भ्यालु र उच्च माग भएकी अभिनेत्री साम्राज्ञी आरएल शाहले १५ लाख पारिश्रमिक बुझेको नयाँ फिल्मको नाम ‘मारुनी’ जुराइएको छ । 'अझै पनि' फेम्ड निर्मात्री पुनम गौतमले निर्माण तथा 'मंगलम' निर्देशक नवल नेपालले यो फिल्म निर्देशन गर्दैछन् । यस फिल्ममा अभिनेत्री साम्राज्ञीको अपोजिटमा अभिनेता पुष्पल खड्का देखिँदैछन् ।

माघ अन्तिम साताबाट फ्लोरमा निस्कने तयारी भइरहेको फिल्ममा रेबिका गुरुङ पनि लिड रोलमा रहनेछिन् । ‘मारुनी’ त्रिकोणात्मक प्रेमकथामा आधारित हुने बताइएको छ । अर्जुन पोखरेल र कृष्ण काफ्लेको संगीत रहने फिल्मलाई सञ्जय लामाले खिच्नेछन् । मगर भाषामा गुन्ह्युचोली लगाएर नाच्ने पुरुषलाई मारुनी भन्ने प्रचलन छ ।
फिल्म मारुनी नाचमा आधारित त होइन ? निर्देशक नेपालले फिल्मीखबरसँग कुराकानी गर्दै फिल्म नाचसँग सम्बन्धित नभएको बताएका छन् । उनले भने, 'राम्री यूवतीलाई पनि मारुनी भन्ने गरिन्छ । दुई राम्री युवतीलाई फिल्ममा मारुनीको रुपमा ब्याख्या गर्न खोजेका छौं ।' यसमा पुष्पलले साम्राज्ञी र रेबिकासँग रोमान्स गर्नेछन् ।
यसअघि फिल्म 'मंगलम' मा अभिनेत्री शाहले निर्देशक नेपालको एक्सन-कटमा काम गरेकी थिइन् । पारिवारिक फिल्म बनाउन माहिर मानिने निर्देशक नेपाल 'मारुनी' पारिवारिक भए पनि आधुनिकिकरणतर्फ जोड दिएको बताउँछन् । यसअघि उनले 'लज्जा', 'भाग् सानी भाग्', 'तश्विर', 'महशुस' लगायतका फिल्म पनि निर्देशन गरिसकेका छन् ।
बाँके लगायतका स्थानमा छायांकन गरिने फिल्ममा पुष्पल, साम्राज्ञी र रेबिकाबाहेक अरु कलाकार फाइनल नभएको निर्देशक नेपालले जानकारी दिए । उनका अनुसार, अहिले दुई जना क्यारेक्टर आर्टिस्टको खोजी भइरहेको छ । केही दिनमा फिल्मको औपचारिक घोषणा हुँदैछ ।

