आफ्नो फिल्म 'ठग्स अफ हिन्दोस्तान' को असफलतापछि अब अभिनेता आमिर खान एक अर्को ठूलो प्रोजेक्ट बनाउने तयारीमा छन् । उनी 'महाभारत' माथि एक वेब सिरिज बनाउँदैछन् । यो सिरिजमा अभिनेत्री दीपिका पादुकोणले पनि काम गर्ने चर्चा थियो । तर, उनले काम गर्न इन्कार गरेकी छन् ।
हालै दीपिकालाई आमिरको घरमा स्पोट गरिएको थियो । अनुमान लगाइएको थियो कि उनी आमिरको नयाँ प्रोजेक्टको हिस्सा हुनेछिन् । उनी मिस्टर पर्फेक्सनिस्टको नयाँ प्रोजेक्ट 'महाभारत' मा काम गर्नेछिन् र द्रोपदीको महत्वपूर्ण भूमिका निर्वाहा गर्नेछिन् । तर, उनले आमिरसँग काम गर्न अस्वीकार गरेकी छन् ।

दीपिका र आमिरले अहिलेसम्म सँगै काम गरेका छैनन् । आमिर यो वेब सिरिजको ८ भाग निर्माण गर्ने योजनामा छन् । हरेक एक सिजनलाई अलग-अलग निर्देशकले निर्देशन गर्नेछन् । हालै रिलिज भएको उनको फिल्म 'ठग्स अफ हिन्दोस्तान' बक्सअफिसमा डिजास्टर साबित भएको थियो ।
दीपिकाको कुरा गर्ने हो भने नोभेम्बर, २०१८ मा उनले अभिनेता रणवीर सिंहसँग विवाह गरेकी थिइन् । उनको नयाँ प्रोजेक्ट मेघना गुलजारको एक फिल्म छ । यो फिल्ममा उनी निर्मात्रीको रुपमा समेत रहनेछिन् । फिल्मको कहानी 'एसिड अट्याक सर्भाइभर' लक्ष्मी अग्रवालमा आधारित छ ।

