Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(4 votes, avg 4.25/5.00)
Text size:-
+
-

हलमा ‘प्रसाद’, मल्टिप्लेक्समा बुकिङ आक्रामक

फिल्मीखबर, काठमाडौं, 2018/12/07
गीतसंगीत र ट्रेलरका कारण दर्शकमाझ प्रतिक्षीत बनेको फिल्म ‘प्रसाद’ ले शुक्रवारबाट प्रदर्शन आरम्भ गरेको छ । एकल रिलिज पाएको फिल्मले बुधबार राजधानीमा भएको प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया पाएको थियो । अब दर्शक प्रतिक्रियाले फिल्म लामो रेसको घोडा बन्ने वा नबन्ने निर्धारण गर्नेछ । 
 
'नोभेम्बर रेन', 'क्लासिक' लगायतका लभस्टोरी फिल्म निर्देशन गरिसकेका दिनेश राउत यस फिल्मका निर्देशक हुन् । विचार भन्नका लागि फिल्म बनाएको बताउँदै आएका उनले पहिलो पटक संवेदनशिल विषय उठाउने प्रयास गरेका छन् । प्रिमियरमा उनको कामको प्रशंसा भएको थियो । यसको कथा पत्रकार सुशील पौडेलले लेखेका हुन् । 
 
अन्तरजातिय विवाह गरेर राजधानी छिरेको जोडीको जीवनमा सन्तान नहुँदा आउने उचारचढावको कथा फिल्मले भन्छ । उम्दा कलाकार विपिन कार्की, नम्रता श्रेष्ठ र निश्चल बस्नेत फिल्मको केन्द्रिय भूमिकामा छन् । विपिन र नम्रता श्रीमान् श्रीमतीको भूमिकामा छन् भने निश्चल नेगेटिभ रोलमा छन् ।
 
 
७० बढी सिंगल स्कृन पाएको फिल्मले मल्टिप्लेक्समा पनि उच्च सोज हात पारेको छ । निर्माताले सर्वाधिक शेयर पाउने देशको सबैभन्दा ठूलो मल्टिप्लेक्स क्यूएफएक्स च्यानलमा ‘प्रसाद’ ले राजधानीका ५ हलबाट १५ सोज र उपत्यका बाहिरका ४ हलबाट ७ सोज पाएको छ । फिल्मले क्यूएफएक्स च्यानलमा मात्र कुल २२ सोज आफ्नो पक्ष गरेको छ । 
 
गीतसंगीतले निर्माण गरेको हाइप र गिनेचुनेका कलाकारका कारण फिल्मलाई क्यूएफएक्सले उच्च सोज उपलब्ध गराएको हो । नेपाली फिल्म निकै कम हाउसफुल हुने ठमेलको छायाँको २ सोज, सिभिल मलको ४ सोज, कुमारीको १ सोज, लिबिमको ३ सोज र चितवनको जलमा हलमा पाएको २ सोजका सिट भरिसकेका छन् । 
 
बुकिङ खुलेसँगै फिल्मको टिकट तिव्र गतिमा 'सेल्स' भइरहेको छ । राजधानी तथा उपत्यकाका मल्टिप्लेक्समा पनि फिल्मले राम्रो सोज संख्या हात पारेको छ । 'छक्का पञ्जा ३' पछि खडेरी लागेको नेपाली फिल्मको व्यापार 'प्रसाद' ले चलायमान बनाउने विश्वास चलचित्रकर्मीको छ । 
 
सिंगल स्कृनमा एक्लै भए पनि मल्टिप्लेक्समा भने यो फिल्मसँग भिड्न अन्य दुई विदेशी फिल्म प्रदर्शनमा आएका छन् । प्रियंका चोपडाले निर्माण गरेको नेपाली भाषाको सिक्कमी फिल्म 'पाहुना' र सुशान्त सिंह राजपुत र सारा अली खानको 'केदारनाथ' एकसाथ प्रदर्शनमा आएको छ । उता गएको हप्ता आएको फिल्म '२.०' को दबदबा अझै कायमै छ । 
Most Visited News (monthly)