Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

हिट हुन्छ भनेर ‘प्रसाद’ बनाएको होइन : निर्देशक राउत

फिल्मीखबर, काठमाण्डौ, 2018/12/05
यही शुक्रबारबाट फिल्म ‘प्रसाद’ प्रदर्शनमा आउँदैछ । ‘लै लै’ गीतले फिल्मको लोभलाग्दो हाइप निर्माण गरेको छ । उता विपिन कार्की, नम्रता श्रेष्ठ र निश्चल बस्नेतजस्ता गिनेचुनेका कलाकार फिल्ममा छन् । गीतले बनाएको हाइप र चलेका कलाकार भएका कारण फिल्मको इनिसियल बक्सअफिस सुखद हुने अनुमान फिल्मी पण्डितहरुको छ । 
 
यो फिल्मलाई लभस्टोरी फिल्म बनाउन माहिर मानिने निर्देशक दिनेश राउतले निर्देशन गरेका हुन् । 'आई एम सरी', 'नोभेम्बर रेन', 'क्लासिक', 'पर्व' लगायतका फिल्म निर्देशन गरिसकेका उनले यसपटक संवेदनशिल विषयमा हात हालेका छन् । ‘प्रसाद’ दर्शकले रुचाउँछन् भन्ने उद्धेश्यले नभइ विचार व्यक्त गर्न निर्माण गरिएको उनको भनाई छ । 
 
उनी भन्छन्, 'फिल्मले एउटा विचार बोकेको छ । दर्शकलाई फिल्मको माध्यमबाट एउटा विचार भनुँ भन्ने उद्धेश्य हो । दर्शकले रुचाउनुहुन्छ होला, कमर्सियल रुपमा हिट हुन्छ होला भनेर यो फिल्म बनाएकै होइन । लभस्टोरी फिल्ममा यो कुराले अडियन्सलाई छुनसक्छ भन्ने लाग्थ्यो र मैले त्यही हिसाबले नै काम गर्थें । तर, ‘प्रसाद’ त्यस्तो छैन ।' 
 
 
निर्देशक राउत फिल्म बारे थप प्रस्ट्याउँदै भन्छन्, 'फिल्मले विचार बोकेको हुनाले यो कुरा दर्शकले रुचाउँछन् भन्ने भन्दा पनि यो कुरा भन्न आवश्यक छ भन्ने हिसाबले काम गरेको छु ।' फिल्म 'पर्व' को बेला लेखक सुशील पौडेलबाट ‘प्रसाद’ को कन्सेप्ट सुनेपछि उनमा उक्त विषयमा फिल्म बनाउने इच्छा पलाएको रहेछ । भन्छन्, 'मलाई पहिलादेखि नै सामाजिक विषयवस्तुमा फिल्म गर्न मन थियो । त्यो ‘प्रसाद’ बाट पूरा भएको छ ।' 
 
अहिले स्टार कलाकार लिएपछि फिल्म सफल हुन्छ भन्ने विश्वास निर्माता/निर्देशकलाई छ । तर, उनी चलेका कलाकार लिँदैमा फिल्म कमर्सियल रुपमा सफल हुन्छ भन्ने मान्न तयार छैनन् । फिल्मलाई ब्रान्डिङ गर्न मात्र स्टार कलाकारले फाइदा पुग्ने उनको तर्क छ । 'दर्शकसँग पुर्‍याउन चलेका कलाकार एउटा सजिलो माध्यम चाहिँ हो । तर, फिल्म चल्ने वा नचल्ने भन्ने कुरा फिल्ममा नै निर्भर रहन्छ ।' 
 
निःसन्तानका कारण पति र पत्निबीचमा आउने असमझदारी, अविश्वास तथा आफैंमा उत्पन्न एक मानसिक द्वन्द्वसँगै सामाजिक मुल्य-मान्यता विरुद्धको कथा फिल्म ‘प्रसाद’ ले बोल्छ । सुवाष थापा इन्टरटेनमेन्टको ब्यानरमा बनेको फिल्मलाई राजेश श्रेष्ठले खिच्नेका हुन् । लोकेश बज्रचार्यको सम्पादन रहेको फिल्ममा सुवाष भुषालको संगीत र हिमाल केसीको थ्रिल छ । 
Most Visited News (monthly)