उमेरले ६८ वर्षका भइसकेका छन् बरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठ । तर, अभिनयमा उनको सक्रियता अझै कम भएको छैन । ९ वर्षदेखि पार्किन्सस रोगबाट पीडित उनले गत वर्ष प्रदर्शनमा आएको फिल्म 'शत्रु गते' मा निभाएको भूमिकाले धेरै सरप्राइज भएका थिए । उनलाई मह सञ्चारको नयाँ फिल्म 'दाल भात तरकारी' मा पनि देख्न पाइनेछ ।
उनी अहिले पनि आफू अभिनयमा सक्रिय हुनुको श्रेय हरिवंश आचार्यलाई लिन्छन् । मदनकृष्ण भन्छन्, 'ऊ मेरो भाई मात्र होइन मेरो अभिभावक पनि हो । ऊ नभएको हुन्थ्यो भने म धेरै पहिला थाकिसकेको हुन्थें । उसलाई हेरेपछि मलाई उर्जा आउँछ ।' मदनकृष्ण र हरिवंशको सहयात्रा ४ दशकदेखि अनवरत छ ।
स्वास्थ्य अवस्थाका कारण उनी पछिल्लो समय निकै कम सार्वजनिक कार्यक्रममा पुग्ने गर्दछन् । सहभागी हुनु परेको खण्डमा उनी हरिवंशको साथ छाड्दैनन् । मंगलबार भने फिल्म 'छक्का पञ्जा ३' को ५१ औं दिने सक्सेस पार्टीमा एक्लै देखिए । हरिवंश फिल्मको छायांकनमा व्यस्त भएका कारण उपस्थित हुन सकेनन् ।
मदनकृष्णको उपस्थिति मात्रले पनि फिल्मको सक्सेस पार्टीमा बेग्लै रौनकता छाएको छ । 'छक्का पञ्जा ३' ले हासिल गरेको सफलता समग्र नेपाली फिल्म क्षेत्रको उपलब्धि रहेको बताउँदै हरेक नेपाली फिल्मले ५१ औं दिन मनाउनु पर्ने उनले बताए । उनले फिल्मको सफलताको सेलिब्रेसनमा नृत्य पनि गरे ।
निर्देशक दीपाश्री निरौलाले हात समातेर तानेपछि उनी विरालो चालमा नाच्न थाले । स्टेजमा संगीतकार तथा गायक राजनराज सिवाकोटी 'सुर्के थैली...' गीत गाइरहेका थिए । केही बेरमा मदनकृष्णलाई साथ दिन अभिनेत्री करिश्मा मानन्धर पनि अगाडि सरिन् । सदाबहार नायिका सामुन्ने भएपछि मदनकृष्ण रोमान्टिक हिरो बने ।
उनले करिश्माको हात समातेर एकफेरो घुमे । अनि, करिश्मालाई पनि एकफन्को घुमाए । कार्यक्रममा करिश्मासँग मदनकृष्णको रोमान्टिक अन्दाज कम रोचक थिएन । दुईलाई नीर शाह, दीपकराज गिरी, दीपाश्री निरौला, केदार घिमिरे, जितु नेपाललगायतले पनि साथ दिएका थिए ।

