
बलिउड सुपरस्टार सलमान खानका ज्वाइँ आयुष शर्माको हातमा एक ठूलो फिल्म परेको छ । ग्यांगस्टर पृष्ठभूमिमा बन्न लागेको फिल्ममा उनी सञ्जय दत्तसँग देखिँदैछन् । पछिल्लो पटक सञ्जय ‘साहेब बीवी और ग्यांगस्टर ३’ मा देखिएका थिए भने ‘लभयात्री’ बाट आयुषले फिल्मी करिअर सुरुवात गरेका थिए ।
सलमानको होम प्रोडक्सनबाट निर्माण भएको उक्त फिल्म बक्सअफिसमा असफल भएको थियो । सञ्जय र आयुषको फिल्मलाई निर्माण गर्न लागेकी निर्मात्री प्रेरणा आरोडाले फिल्म अन्डरवर्ल्डबाट प्रेरित रहेको बताएकी छन् । उनले भनेकी छन्, 'यो एक्सन फिल्म हो, यसकारण हामीलाई लाग्यो कि सञ्जय दत्तभन्दा उत्कृष्ट यसका लागि अरु हुन सक्दैनन् ।'
'आयुष शर्मा पनि ठूलो पर्दामा निकै प्रभावशाली देखिन्छन् । हामी उहाँहरुसँग काम गर्न उत्सुक छौं । दुवै अभिनेतासँग औपचारिकता पूरा हुँदैछ । चाँडै औपचारिक घोषणा गर्नेछौं', निर्मात्री प्रेरणाले भनिन् । फिल्मका लागि आयुषले आफ्नो लुक्स पनि बदलेका छन् ।
फिल्मको निर्माण प्रेरणाको ‘फाइभ स्टूडियो फाइभ एलिमेन्ट’ र कोरियोग्राफर-फिल्ममेकर अहमद खानको ब्यानरले संयूक्त रुपमा गर्नेछ । फिल्मको छायांकन अर्को वर्षको मेबाट हुने बताइएको छ । अभिनेता दत्त, करण जोहरको फिल्म ‘कलंक’ र आशुतोष गोवारिकरको फिल्म ‘पानीपत’ मा पनि देखिँदैछन् ।

