१३ वटा हलमा सफलतापूर्वक ५१ औं दिन मनाएको यस वर्षको सुपरहिट फिल्म ‘छक्का पञ्जा ३’ ले कलाकार, प्राविधिक तथा सञ्चारकर्मीलाई सम्मान गरेको छ । मंगलबार राजधानीमा सफलताको पार्टी आयोजना गर्दै निर्माण टिमले फिल्मलाई विभिन्न माध्यमबाट सहयोग पुर्याउने सबैलाई सम्मान गरेको थियो । कार्यक्रममा चलचित्रकर्मीहरुको बाक्लो उपस्थिति देखिएको थियो ।
मदनकृष्ण श्रेष्ठ, नीर शाह, भुवन केसी, छविराज ओझा, करिश्मा मानन्धर, विनोद मानन्धर, सन्दिप क्षेत्री, सिताराम कट्टेल, कुञ्जना घिमिरेलगायत दर्जनौ चलचित्रकर्मीले निर्माण टिमलाई ५१ औं दिने सफलताका लागि बधाई दिएका थिए । अधिकांशले फिल्मले हासिल गरेको सफलता नेपाली चलचित्र क्षेत्रका लागि ठूलो उपलब्धि रहेको बताएका छन् ।
कार्यक्रममा बोल्दै फिल्मका कलाकार, निर्माता तथा लेखक दीपकराज गिरीले 'छक्का पञ्जा ३' को सफलता आफ्नो टिमको मात्र नभएको बताए । खुसी व्यक्त गर्दै उनले भने, ‘‘छक्का पञ्जा ३’ ले ५१ औं दिन मनाइरहेको छैन । यो नेपाली चलचित्र क्षेत्रको ५१ औं दिन हो । यो सफलताको खुसी नेपाली चलचित्र क्षेत्रलाई समर्पित गर्न चाहन्छु ।’’
हलिउड र बलिउड जस्ता ठूला मार्केटका फिल्मसँग प्रतिस्पर्धा गरेर पनि नेपाली फिल्मले सफलता प्राप्त गर्नु ठूलो 'अचिभमेन्ट' रहेको उनले बताए । उनी भन्छन्, 'हलिउड/बलिउडका महंगा फिल्महरु र हाम्रा १/२ करोडका फिल्महरु एउटै पर्दामा लाग्छ, एकैदिन लाग्छ र एउटै रुपैयाँले हेर्न पाइन्छ । हामी यस्तो प्रतिस्पर्धा गरिरहेका छौं ।'
प्रतिस्पर्धाको बीच पनि हलिउड र बलिउड फिल्मले नेपालमा गरेको व्यापारभन्दा उत्कृष्ट व्यापार 'छक्का पञ्जा ३' ले गर्नु समग्र चलचित्र क्षेत्रको सफलता रहेको उनी बताउँछन् । 'हामीसँग सीमित साधन स्रोत छ । यसकारण नेपाली फिल्मले प्रविधिसँग सक्दैन । तर, कथा, प्रस्तुती र मौलिकतामा अब हलिउड र बलिउड फिल्मसँग प्रतिस्पर्धा गर्न सक्छौं', उनले भने ।
यस्तै निर्देशक दीपाश्री निरौलाले 'छक्का पञ्जा ३' ले ५१ औं दिन मनाउनु ठूलो सफलता रहेको बताइन् । उनी पनि फिल्मले हासिल गरेको सफलता टिमको मात्र नभइ नेपाली चलचित्र क्षेत्रकै रहेको बताउँछिन् । फिल्मको सफलताको जस उनी दर्शक र मिडियालाई दिन चाहन्छिन् । केदार घिमिरे र जितु नेपालले फिल्मको सफलता हरेक नेपालीको रहेको बताए ।
फिल्मको ५१ औं दिने सक्सेस पार्टीमा बर्षा राउत, निशान भट्टराई, निर्मल शर्मा, बसुन्धरा भुषाललगायत पनि पुगेका थिए । कार्यक्रममा फिल्मकी लिड अभिनेत्री दीपिका प्रसाईं भने देखिइनन् । यस फिल्मले प्रदर्शनको ५१ औ दिनमा देशभरबाट १७ करोड ग्रस विजनेश गरेको वितरकबाट जानकारी प्राप्त छ । गएको घटस्थापनमा फिल्म रिलिज भएको थियो ।

