पुराना अभिनेता शिव श्रेष्ठका भतिज मनिष सुन्दर श्रेष्ठ 'रानी' र 'तिमी हुन्छौ जहाँ जहाँ' को असफलतापछि फेरि पर्दामा फर्किएका छन् । उनको नयाँ फिल्म हो 'जानी नजानी' । बसन्त अधिकारीको डेब्यु निर्देशन रहेको यो फिल्मको फर्स्टलुक र प्रदर्शन मिति घोषणा गरिएको छ । निर्माण टिमले फिल्मको प्रदर्शन मिति चैत १ गतेलाई लक गरेको छ ।

सार्वजनिक फर्स्टलुक पोस्टरमा मनिषसँगै निरिशा बस्नेत, सन्नी सिंह र नम्रता श्रेष्ठ फिचर्ड छन् । पुराना कलाकार तथा निर्देशक विश्व बस्नेतको छोरी निरिशाले यही फिल्मबाट डेब्यु गरेकी छन् । फिल्ममा प्रकाश अधिकारी, कृष्ण भक्त महर्जन, रोशनी केसी लगायतको पनि अभिनय रहेको छ ।
आधुनिक प्रेमकथामा आधारित भनिएको फिल्मको कथा, पटकथा र संवाद सामिप्यराज तिमिल्सेनाले लेखेका हुन् । फिल्ममा छायांकन संजय लामाको रहेको छ । यसमा संगीत अर्जुन पोखरेलले दिएका छन् । फिल्ममा कविराज गहतराज, प्रविन सिंह र शिशिर खातीको कोरियोग्राफी छ । अर्जुन जिसीले सम्पादनको जिम्मेवारी सम्हालेका छन् ।
रोशनी इन्टरटेन्मेनटको ब्यानरमा निर्मित फिल्मकी प्रस्तुतकर्ता रोशनी केसी हुन् । फिल्ममा मोदनाथ खनाल र सागर काजी मालीको निर्माण रहेको छ । धेरै फिल्ममा सह-निर्देशक भएर काम गरेका निर्देशक अधिकारी आँखालाई नविझाउने किसिमले फिल्म तयार पारेको बताउँछन् । अहिलेको पुस्ताले फिल्ममा आफूलाई रिलेट गर्ने दाबी उनको छ ।

