Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(4 votes, avg 4.25/5.00)
Text size:-
+
-

प्रदीपजी, ‘रोज’ असफलताको जिम्मेवारी पनि लिने कि ?

मनिष अन्जान, काठमाण्डौ, 2018/12/03
‘‘ठग्स अफ हिन्दोस्तान’ को असफलताको पूरै जिम्मेवारी म लिन्छु । यसपटक दर्शकलाई मनोरञ्जन दिन सकिनँ अर्को पटक थप मिहिनेत गर्नेछु ।’’ यो अभिव्यक्ति बलिउड सुपरस्टार आमिर खानको हो । हाल प्रदर्शनरत फिल्म ‘ठग्स’ बक्सअफिसमा डिजास्टर साबित भएपछि उनले फिल्म असफलताको सम्पूर्ण जिम्मेवारी आफूले लिने उद्घोष गरे । 
 
बलिउडका गिनेचुनेका अभिनेता हुन् उनी । 'गजनी', 'धूम ३', 'दंगल', 'पिके', 'सिक्रेट सुपरस्टार' लगायतका सुपरहिट फिल्म दिइसकेका उनले फिल्म असफलताको पूरै जिम्मेवारी आफ्नो काँधमा लिनुलाई धेरैले प्रशंसा गरेका छन् । बलिउडका कुनै कलाकारले आजसम्म फिल्म असफलताको जिम्मेवारी लिने आँट गर्न सकेका थिएनन् ।  
 
नेपाली कलाकारहरु पनि असफलताको जिम्मेवारी लिने भीडमा अट्दैनन् । तात्तातो उदाहरण अभिनेता प्रदीप खड्का हुन् । अहिलेका डिमान्डेड र महंगा अभिनेतामा गनिने उनको पछिल्लो फिल्म ‘रोज’ बक्सअफिसमा असफल भयो । दर्शक तथा समीक्षकले उनको अभिनय खस्किँदै गएको समेत टिप्पणी गरे । 
 
 
डिमान्ड लोभलाग्दो छ । ५० लाखसम्म पारिश्रमिक तिर्न निर्माता तयार छन् । स्टारडम बलियो छ । यसकारण उनी आफूमाथि भएको टिप्पणीलाई एउटा कानबाट सुनेर अर्को कानबाट उडाउने गरेका छन् । अहिले उनको करिअर फर्केर हेर्नुपर्ने अवस्थामा छैन । लुक्स र स्टारडमको वाहवाहीमै उनी गमक्क छन् । 
 
शनिबार राजधानीमा भएको 'कामना अवार्ड' मा अभिनेता प्रदीप पहिलो पटक उद्घोषकको अभिभारा बोकेर स्टेज चढे । उनलाई साथ अभिनेत्री केकी अधिकारीले दिएकी थिइन् । दुईले एकअर्कालाई सक्दो व्यंग्य गरे । केकीले प्रदीपलाई 'रोज' असफल भएको तर्फ संकेत गर्दै भनिन्, 'फ्लप क्लवमा स्वागत छ ।' तर, प्रदीप फिल्म असफल भएको स्वीकार गर्न तयार देखिएनन् । 
 
उनले आफूलाई आमिर खानसँग तुलना गरे । 'कहिले सफल हुन्छ त कहिले असफल । उदाहरणको रुपमा आमिर खानको 'ठग्स अफ हिन्दोतान' लाई नै हेर्दा हुन्छ', उनले भने । उनको भनाईको आशय आमिर खान र उनी एउटै स्तरका अभिनेता हुन् । यदी प्रदीप यो सोच्दछन् भने आमिरले 'ठग्स' को असफलताको पूरै जिम्मेवारी आफूले उठाएका छन् । तर, उनले किन सकेनन् ? 
 
डिप्लोम्याटिक तरिकाले जवाफ दिन माहिर उनी यसपटक आफ्नै अभिव्यक्तिका कारण आलोचित भएका छन् । आफूलाई आमिर खानसँग दाँज्नुलाई धेरैले उनको घमण्ड बोलेको भनेका छन् । बक्सअफिसमा अझै आफूलाई अब्बल प्रमाणित गर्न नसकेका उनले आफूले आफूलाई आमिर खान सम्झनु हाँसोका लागि भने गतिलै खुराक हो । 
 
तश्बिर : दीपेन्द्र घिमिरे
Most Visited News (monthly)