अभिनेता आशिरमान देशराज जोशी सम्भावना बोकेका अभिनेता हुन् । चकलेटी लुक्सका कारण फिल्ममा आउनु अगावै उनको राम्रो फ्यान फलोइंग थियो । डेब्यु फिल्म 'ग्याङ्गस्टर ब्लूज' ले उनलाई 'स्टार' अभिनेताको भीडमा उभ्याउने निकै स्वर सुनिएको थियो । तर, उनको स्टार बन्ने सपना गर्भमै रह्यो ।
अभिनेता अनमोल केसीलाई सुपरस्टार बनाएका निर्देशक हेमराज विसीले उक्त फिल्म निर्देशन गरेका थिए । फिल्ममा उनले अन्य पात्रभन्दा आशिरमानलाई नै बढी 'स्क्रिन स्पेस' दिएका थिए तर न बक्सअफिसमा फिल्म चम्कियो न त दर्शक-समीक्षकले नै तारिफ गरे । न आशिरमानको अभिनयकै प्रशंसा भयो ।

पहिलो सहकार्य असफल भए पनि पुनः हेमराज र आशिरमानको टिमअप फिल्म 'दि ब्रेकअप' मा भएको छ । यो फिल्म पुष २७ गते प्रदर्शनमा आउँदैछ । दुबै दोस्रो सहकार्य सफल हुनेमा विश्वस्त छन् । हेमराज, आशिरमानलाई स्टार बनाएरै छाड्ने धाउन्नमा देखिन्छन् । किनकि, अनमोलका लागि प्रतिस्पर्धी हिरो जन्माउन चाहन्छन् उनी ।
अनमोलसँग सम्बन्ध विग्रिएपछि उनले आशिरमानलाई काखी च्यापेको चर्चा सिनेवृतमा छ । तर, स्क्रिप्ट लेखेपछि आशिरमान नै परफेक्ट भएका कारण अनुबन्ध गरेको तर्क निर्देशक विसीको छ । भन्छन्, 'मैले जति बेला स्क्रिप्ट लेखें त्यसबेला मेरो अगाडि एउटा परफेक्ट क्यारेक्टर (आशिरमान) थियो । अनि मैले धेरै खोज्नतिर लागिनँ । र, उसलाई नै अप्रोच गरें ।'
आशिरमानलाई स्टार बनाउने जिम्मा तपाईको हो ? पत्रकारको प्रश्नमा हेमराज भन्छन्, 'राम्रो फिल्म बनाउने जिम्मा मेरो हो, कसैलाई स्टार बनाउने होइन । उसलाई स्टार बनाउने भन्दा पनि मेरो लागि म महत्वपूर्ण हुँ ।' उनी 'दि ब्रेकअप' मा कथाको माग नै आशिरमान रहेको बताउँछन् । अब दुईको दोस्रो टिमअप कति फलदायक होला ? यसको भने प्रतिक्षा गर्नै पर्ने हुन्छ ।

