नेपाली फिल्म इन्डस्ट्रीमा कलाकारको अभिनयको चर्चा कम पारिश्रमिकको सबैभन्दा बढी हुने गर्छ । अचेल पारिश्रमिककै आधारमा कलाकारको लोकप्रियता मापन हुने गरेको छ । प्रायः नेपाली कलाकार चर्चाका लागि नै महंगो पारिश्रमिकको डंका फुक्ने गर्छन् । कतिको भने यथार्थ पनि हुन्छ । कोही हल्लाकै भरमा महंगा भइरहेका छन् ।
अभिनेता द्वय अनमोल केसी र प्रदीप खड्काले एक फिल्मबापत ५० लाख बुझ्ने गरेको खबर बाहिर आएपनि त्यसलाई सत्य मान्ने आधार छैन । अभिनेत्री पूजा शर्माले जसरी अहिलेसम्म कुनै कलाकारले एग्रिमेन्ट पेपर सार्वजनिक गर्ने आँट गर्न सकेका छैनन् । यसको अर्थ एउटै हुन्छ, बजारमा चलेका हल्ला चर्चाका लागि मात्र हुन् ।
अहिले सिनेवृतमा निर्देशक निश्चल बस्नेतको महंगो पारिश्रमिकको चर्चा सुरु भएको छ । मंसिर २१ गते रिलिज हुन लागेको फिल्म 'प्रसाद' को प्रचारमा व्यस्त उनी चाँडै अर्का निर्देशक हेमराज विसीको नयाँ फिल्म गर्दैछन्, जसमा २० लाख पारिश्रमिक बुझेको खबर छ । तर, यो कुरा न निश्चल न त हेमराज नै बताउन चाहन्छन् ।

दुईबीच मौखिम सहमती भए पनि कागजी सम्झौता भने हुन बाँकी रहेको स्रोत बताउँछ । निर्देशक विसी अभिनेता प्रदीप खड्का र अभिनेत्री साम्राज्ञी आरएल शाहलाई लिएर रोम-कोम जनराको एक फिल्म बनाउँदैछन् र यसपछि उनी निश्चलसँगको प्रोजेक्ट गर्ने तयारीमा छन् । फिल्ममा उनीबाहेक अरु कन्फर्म नभएको बताइएको छ ।
निश्चललाई २० लाख दिएकै हो ? शुक्रवार फिल्म 'दि ब्रेकअप' को नयाँ गीत रिलिज कार्यक्रममा निर्देशक विसीलाई पत्रकारले प्रश्न गरे । उनले यस विषयमा बोल्न उपयूक्त ठानेनन् । भन्छन्, 'उहाँ स्वयंले आएर मैले यति लिएको छु भन्नुभयो भने राम्रो हुन्छ । मलाई भन्ने अधिकार पनि छैन । पारिश्रमिकको कुरा गोप्य नै राम्रो हुन्छ ।'
प्रदीप र साम्राज्ञीलाई लिएर फिल्म बनाउन लागेको कुरामा सत्यता रहेको बताए पनि निश्चलसँगको टिमअपको विषयमा भने उनी धेरै खुल्न चाहेनन् । हेमराज भन्छन्, 'अहिले मेरो पूरै ध्यान 'दि ब्रेकअप' मा छ । बाँकी कुरा अहिले गर्न चाहन्नँ । यस विषयमा पछि कुरा गर्नेछु ।' साम्राज्ञीलाई १५ लाखमा साइन गरेको विषयमा पनि उनले बोल्न आवश्यक ठानेनन् ।

