साउथका मेगास्टार रजनीकान्तको फिल्म ‘२.०’ ले बक्सअफिसमा धूम मचाउन सुरु गरेको छ । दर्शक निकै समयदेखि यो फिल्मको प्रतिक्षामा थिए । प्रदर्शनको पहिलो दिन नै यो फिल्मले विश्वभरबाट सय बढी ग्रस कलेक्सन गरेको ट्रेड एनालिस्टले बताएका छन् । पहिलो दिन हिन्दी भर्सनमा मात्र फिल्मले २० करोड २५ लाख कमाएको छ ।
फिल्मको दोस्रो दिनको कलेक्सन रिपोर्ट पनि बाहिर आएको छ । दोस्रो दिन फिल्मले १८ करोड मात्र कमाउन सफल भएको छ । ‘२.०’ ले हिन्दी भर्सनबाट मात्र दुई दिनमा कुल ३८ करोड २५ लाख छापेको छ । ट्रेड एनालिस्ट तरण आदर्श भन्छन्, 'दोस्रो दिनको कमाई कमजोर भए पनि शनिबार र आइतबार राम्रो हुनेछ ।'

फिल्ममा पहिलो पटक रजनीकान्त र बलिउड अभिनेता अक्षय कुमार साथ देखिएका छन् । भारतमा मात्र नभई विदेशमा पनि फिल्मले राम्रो पैसा छापेको छ । ट्रेड एनालिस्ट रमेश बालाका अनुसार, अस्ट्रेलिया, अमेरिका र न्यूजिल्यान्डलगायतका ओभरसिज मार्केटमा पहिलो दिन फिल्मले जबरजस्त कमाइ गरेको छ ।
एस. शंकरको निर्देशनमा बनेको फिल्मले अस्ट्रेलियामा ३५ स्क्रिनमा ५९ लाख र न्यूजिल्यान्डमा १८ स्क्रिनमा ११ लाख ११ हजार कमाएको छ । यस्तै, अमेरिकामा फिल्मले २५८ स्क्रिनमा करीब २ करोडको आँकडा छोएको छ । रमेश बालाका अनुसार, फिल्मले पहिलो दिन विश्वभरबाट एक सय करोड कमाएको छ ।
देश तथा विदेशमा कयौं ठाउँमा विभिन्न भाषामा फिल्म रिलिज भएको छ । ‘२.०’ फिल्म 'रोबोट' को सिक्वेल हो । फिल्म टेक्निकल रुपबाट निकै तगडा छ । भिजुअल ट्रिट कमालको छ । भिएफएक्सको निकै प्रयोग गरिएको छ । फिल्ममा एक्सनसँगै रोबोट रोमान्स पनि देखाइएको छ । एमी ज्याक्सन फिल्ममा लिड एक्ट्रेसको रोलमा छिन् ।

