‘कुटुमा कुटु’ गर्ल स्वस्तिमा खड्कालाई केही वर्षदेखि फिल्ममा मात्र होइन म्यूजिक भिडियो र कन्सर्टमा समेत भ्याइनभ्याइ छ । निर्देशक निश्चल बस्नेतसँग बैबाहिक जीवनमा बाँधिएपछि उनको करिअरले गति लिएको मान्ने धेरै छन् । लगातार फिल्म हिट हुन थालेपछि अहिले उनको डिमान्डसँगै पारिश्रमिक पनि चर्को बन्दै गएको छ ।
म्यूजिक भिडियो गर्न १ लाखमाथि बुझ्ने उनले अचेल एक फिल्मका लागि १२ लाखमाथि पारिश्रमिक बुझ्ने गरेको चर्चा छ । तर, उनले आफ्नो पारिश्रमिक आजसम्म खुलाएकी छैनन् । चाँडै निर्देशक विकासराज आचार्यले निर्देशन गर्ने नयाँ फिल्म 'हजार जुनी सम्म' मा काम गर्ने तयारीमा रहेकी उनी भन्छिन्, 'पारिश्रमिकको बारे म बोल्न चाहन्नँ । यो गोप्य नै ठिक हुन्छ ।'
उनले आफ्नो पारिश्रमिक परिवारका सदस्यलाई मात्र नभइ श्रीमान निश्चललाई समेत थाहा नहुने अनौठो खुलासा पनि गरेकी छन् । मंसिर २२ गते टुँडिखेलमा हुने 'रग्वी फेस्टिभल तथा लाइभ म्यूजिक' को विषयमा जानकारी दिन शनिबार राजधानीमा आयोजित प्रेस मिटमा पत्रकारले सोधेको पारिश्रमिकको प्रश्नको जवाफमा उनी भन्छिन्, 'पारिश्रमिकको कुरा म र निर्मातालाई बाहेक अरु कसैलाई थाहा हुँदैन ।'
यस वर्ष उनी अभिनीत फिल्म 'नाईं नभन्नू ल ५' हिट भएको थियो । 'छक्का पञ्जा ३' पनि उनको अभिनय थियो तर 'जस' पाइनन् । बरु, कमजोर भूमिकाका कारण चर्को आलोचना भयो । 'छक्का पञ्जा ३' गरेकोमा पछुतो छ ? उनी भन्छिन्, 'पछुतो छैन तर धेरैले गुनासो भने पोखेका थिए । कहिले काहिँ विभिन्न कारणले पनि गर्नुपर्ने हुन्छ । तर, मलाई मेरो क्यारेक्टर यस्तो थियो भन्ने अगाडि नै थाहा थियो ।'
उनले उक्त फिल्म गर्नुको चुरो भने खुलाउन चाहिनन् । स्वस्तिमाले घुमाउरो शैलीमा दीपकराज गिरी र दीपाश्री निरौला टिमसँग राम्रो सम्बन्ध स्थापित भएका कारण 'छक्का पञ्जा ३' रिजेक्ट गर्न नसकेको आशय व्यक्त गरेकी थिइन् । आउँदो शनिबार टुँडिखेलमा हुने फेस्टिभलमा उनी आफू अभिनीत फिल्मका गीतमा नृत्य गर्ने तयारीमा छिन् ।
'रग्वी फेस्टिभल तथा लाइभ म्यूजिक' मा स्वस्तिमासँगै सुगम पोखरेल, आशिष्गा राना लाउरे, नितेशजंग कुँवर, स्वप्न सुमन, डिजे सुरेन, डिजे कुइन् लगायत २ दर्जन बढी कलाकारले प्रस्तुती दिँदैछन् । २५ हजार दर्शकको उपस्थिति रहने अपेक्षा आयोजकको छ । बिहान १० बजेदेखि साँझ ७ बजेसम्म हुने कार्यक्रममा प्रवेश निःशुल्क गरिएको छ ।
तश्बिर : स्माइल

