निर्देशक हेमराज विसी र अहिलेका 'हटकेक' अनमोल केसी एकअर्काका लागि निकै विशेष छन् । किनकि, दुबैको डेब्यु फिल्म थियो 'होस्टेल' । यो फिल्म हिट भएपछि दुबै रातारात चम्किए । दुईको सहकार्य 'जेरी' र 'गाजलु' मा पनि भयो । यी फिल्मले पनि बक्सअफिसमा राम्रै पैसा छापे ।
दुबै एकअर्काका कारण 'हिट' त भए तर अहिले दुईको सम्बन्ध सन्तुलित नभएको चर्चा सिनेवृतमा सुनिन्छ । हेमराजले आफू निर्देशित दुई फिल्म 'ग्याङ्गस्टर ब्लूज' र प्रदर्शनका लागि तयार फिल्म ‘दि ब्रेकअप’ अनमोललाई अफर गरेका थिए । तर, दुबै उनले रिजेक्ट गरे । यसपछि दुईको सम्बन्ध विग्रिएको बताइन्छ ।
.jpg)
फिल्मीखबरलाई प्राप्त खबरलाई आधार मान्ने हो भने ‘दि ब्रेकअप’ गर्न अनमोल तयार थिए । उनले फिल्मका लागि भनेर कपाल समेत बढाएका थिए । अन्तिम अवस्थामा निर्देशक र अभिनेताविच मनमुटाव उत्पन्न भएपछि दुईको सहकार्य टुटेको बि-टाउनमा चर्चा छ । मनमुटाव हुनुको कारण भने अहिलेसम्म बाहिर आएको छैन ।
तर, यो कुरा ठाडै नकार्छन् निर्देशक विसी । उनी ‘दि ब्रेकअप’ अनमोललाई अफर नै गरेको दाबी गर्छन् । भन्छन्, 'मैले जति बेला स्क्रिप्ट लेखें त्यसबेला मेरो अगाडि एउटा परफेक्ट क्यारेक्टर (आशिरमान देशराज जोशी) थियो । अनि मैले धेरै खोज्नतिर लागिनँ । र, उसलाई नै अप्रोच गरें ।' उनी बजारको हल्लालाई सत्य नमान्न मिडियालाई आग्रह गर्छन् ।
उनले अनमोलसँग सम्बन्ध विग्रिएको कुरामा सत्यता नभएको पनि बोले । पुनः टिमअप हुने सम्भावनातर्फ संकेत गर्दै उनी अगाडि भन्छन्, 'ऊसँग प्रोजेक्टको कुरा भइरहेको हुन्छ र अहिले पनि भइरहेको छ ।' अनमोल र हेमराजको सहकार्य एक उदाहरणीय बन्ने गरेको छ । फेरि दुईको टिमअपको प्रतिक्षा दर्शकलाई छ ।

