'ग्याङ्गस्टर ब्लूज' बाट नेपाली रजतपटमा भित्रिएका अभिनेता हुन् आशिरमान देशराज जोशी । अभिनेता अनमोल केसीलाई सुपरस्टार बनाएका निर्देशक हेमराज विसीको एक्सन-कटमा काम गरेपनि उनको डेब्यु फिल्म सफलता चुम्नबाट चुक्यो । न कामको नै प्रशंसा भयो । बरु, उनी चकलेटी लुक्सका कारण भने चर्चामा रहे ।
पुनः उनले दोस्रो पटक पनि निर्देशक विसीकै हात समातेका छन् । पुष २७ गते रिलिज हुने फिल्म ‘दि ब्रेकअप’ मा उनी लिड रोलमा छन् । उनको अपोजिटमा अभिनेत्री शिल्पा मास्के छिन् । करिअरले पिकअप लिन उनका लागि यो फिल्म चल्नै पर्ने हुन्छ । र, उनी दोस्रो फिल्म सफल हुनेमा विश्वस्त पनि छन् ।

अभिनेता अनमोल केसीले रिजेक्ट गरेपछि उनको हातमा परेको यो फिल्मको शुक्रवार दिउँसो 'हरपल...' बोलको रोमान्टिक गीत रिलिज भएको छ । गीतमा उनले अभिनेत्री शिल्पासँग लिपलक सिन दिएका छन् । यसअघि 'ग्याङ्गस्टर ब्लूज' मा पनि उनले अभिनेत्री आना शर्मासँग लिपलक किस सिन दिएका थिए ।
कतै इमरान हाश्मी बन्न खोजेको त होइन ? गीत सार्वजनिक कार्यक्रममा उनीमाथि पत्रकारको प्रश्न तेर्सियो । उनी उत्तर दिनु अगाडि मज्जाले हाँसे । छेवैमा रहेका निर्देशक विसी र अभिनेत्री शिल्पाले पनि हाँसो रोक्न सकेनन् । मिठो हाँसोमा उनी जवाफ दिन्छन्, 'कथाले मागेर दिएको हुँ । इमरान हाश्मी बन्नलाई होइन ।'
उनले आफूले इमरामको जस्तो छवि बनाउन नचाहेको पनि बताए । भन्छन्, 'मेरो रहरले चुम्बन सिन दिएको होइन । कथाले मागेपछि मात्र हो । चुम्बन सिन दिँदैमा इमरान हाश्मीसँग दाँज्न मिल्दैन ।' उनी ‘दि ब्रेकअप’ मा राम्रो काम दिन आफूले कुनै कसर बाँकी नराखेको बताउँछन् ।

