
लभस्टोरी फिल्म निर्देशन गर्न माहिर मानिने हेमराज विसी निर्देशित नयाँ फिल्म ‘दि ब्रेकअप’ को दोस्रो गीत इन्टरनेट रिलिज भएको छ । ‘आज हाम्रो’ बोलको गीतले युट्युबमा २० लाख बढी भ्यूअर्स बटुल्दै गर्दा निर्माण टिमले शुक्रवार दिउँसो रोमान्टिक गीत सार्वजनिक गरेको हो । विराज गौतमको स्वर र संगीतमा गीत बनेको छ ।
प्रकाश मल्लको शब्द रहेको ‘हरपल...’ गीतका एरेञ्जर विशेष पाण्डे हुन् । अभिनेता आशिरमान देशराज जोशी र नव-अभिनेत्री शिल्पा मास्के फिचर्ड गीत अष्ट्रेलियाका विभिन्न मनोरम स्थानमा छायांकन गरिएको हो । गीतमा अभिनेता-अभिनेत्रीले 'लिपलक' सिन पनि दिएका छन् । दुईको केमेस्ट्री कमालको देखिएको छ ।
निर्देशक विसी र अभिनेता जोशीको यो दोस्रो सहकार्य हो । यसअघि यी दुईको फिल्म 'ग्याङ्गस्टर ब्लूज' मा टिमअप भएको थियो, जुन बक्सअफिसमा औसत रहेको थियो । ‘दि ब्रेकअप’ लाई नरेन्द्र मैनालीले छायांकन गरेका छन् । यो फिल्मलाई रुपक थापा, दीपक खतिवडा, रेनु राणा र निर्देशक बिसीले संयुक्त लगानीमा निर्माण गरेका हुन् ।

शुक्रवार गीत सार्वजनिक गर्न आयोजना गरिएको पत्रकार भेटघाटमा निर्देशक विसीले आफ्ना अघिल्ला फिल्मभन्दा ‘दि ब्रेकअप’ मा दर्शकलाई केही फरक स्वाद पस्कने प्रयास गरेको बताए । अभिनेता आशिरमान आफ्नो भूमिकालाई न्याय दिने प्रयास गरेको बताउँछन् । यस्तै, नव-अभिनेत्री शिल्पाले डेब्यु फिल्मबाट आफू उत्साहित रहेको बताइन् ।
नेपाल र अष्ट्रेलियामा छायांकन गरिएको फिल्मको कथा पनि निर्देशक बिसीको नै हो । पौष २७ गते रिलिज हुने फिल्मलाई सुरेन्द्र पौडेलले सम्पादन गरेका हुन् । फिल्ममा आशिर र शिल्पाका अलावा सरोज खनाल, रेनदास श्रेष्ठ, इच्छा कार्कीलगायतका कलाकारहरुको पनि अभिनय छ ।
गीत हेर्नुहोस् :-

