नेपाली फिल्ममा नयाँ पुस्ताको आगमन बढ्दो छ । अहिले मार्केटमा आर्यन सिग्देल र रेखा थापा होइन अनमोल केसी र साम्राज्ञी आरएल शाहको डिमान्ड छ । यो समयको माग हो । अनमोल र साम्राज्ञीको दबदबा पनि सँधै अहिलेझैं नरहन सक्छ । विस्तारै अर्को पुस्ताले नेपाली फिल्ममा आफ्नो वर्चश्व जमाउन सुरु गर्नेछ ।
उदाहरणका लागि अभिनेत्री जसिता गुरुङलाई लिन सकिन्छ । उनी पछिल्लो छिमलकी अभिनेत्री हुन् । तर, अहिलेकी गिनेचुनेकी अभिनेत्री साम्राज्ञी आरएल शाहलाई उनी 'थ्रेट' मानिन थालिएको छ । डेब्यु फिल्म 'लिलिबिली' पछि उनको लोभलाग्दो डिमान्ड छ । लोकप्रियता पनि निकै चुलिएको छ ।
सुन्दरता र अब्बल अभिनयका कारण साम्राज्ञीको विकल्पको रुपमा उनलाई चलचित्रकर्मीले हेर्न थालेका छन् । हुनत, डेब्यु फिल्मपछि उनका कुनै फिल्म प्रदर्शनमा आएका छैनन् । अभिनेता प्रदीप खड्कासँग नाम जोडिएपछि मिडियाको 'लाइमलाइट' मा रहेकी उनले प्रदीपसँग नै दोस्रो फिल्म 'लभ स्टेशन' गरेकी छन् ।
'लिलिबिली' पछि उनको हातमा दीपक-दीपा क्याम्पबाट 'छक्का पञ्जा ३' अफर भएको थियो । तर, उनले अस्वीकार गरिन् । यसको कारण प्रदीपलाई मानिएको छ । उनकै सल्लाहमा जसिताले उक्त फिल्म छाडेको चर्चा सिनेवृतमा छ । 'लभ स्टेशन' भने प्रदीपकै आग्रहमा जसिताले गरेको बताइन्छ । तर, दुबै यो कुरा नकार्छन् ।
अहिले जसितालाई फिल्ममा लिन चाहने निर्माता/निर्देशकको लाइन लामै छ । उनी भने प्रदीपबाहेक अरुसँग अनस्क्रिन रोमान्स गर्ने सोचमा देखिएकी छैनन् । पुनः तेस्रो पटक पनि दुईबीच सहकार्य हुने तयारी भइरहेको स्रोत बताउँछ । हुनत, दर्शकले अत्याधिक रुचाएको जोडीकै फिल्ममा डिमान्ड हुने हो ।
तर, एउटै जोडी पटक-पटक पर्दामा आइरहनु करिअरका लागि पनि सुखद होइन । जसितालाई प्रदीपसँग मात्र होइन अहिलेका चलेका अन्य अभिनेतासँग पनि हेर्ने दर्शकको इच्छा छ । उनी भने राम्रा प्रोजेक्ट पनि छाड्दै हिँडेकी छन् । कतै यो लभको साइड इफेक्ट त होइन ? नभए प्रदीपको फिल्ममा मात्र किन जसिताजी ?

