Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘छक्का पञ्जा ३’ ५१ दिनमा, कमाई १७ करोड

फिल्मीखबर, काठमाण्डौ, 2018/11/29
राजेश हमाल र भुवन केसीको युगमा नेपाली फिल्मका लागि सय दिन र एकाउन्न दिन सामान्य थिए । निकै कम संख्यामा फिल्म निर्माण हुने र हल संख्या पनि प्रयाप्त नभएका कारण प्रायः फिल्मले प्रदर्शनको सय दिन सजिलै पार गर्दथे । तर, डिजिटल युगको आरम्भ सँगै एकाध फिल्मबाहेक अधिकांशको आयू एक वा दुई हप्ताभन्दा लामो हुँदैन । 
 
त्यही एकाध फिल्मभित्र पर्छ ‘छक्का पञ्जा’ सिरिज । यसका तीनवटै सिरिजले सफलताको शिखर चुमेका छन् । कलेक्सनमा रेकर्ड त बनाएका छन् नै साथमा ५१ दिन पनि सजिलै पार गरेका छन् । ‘छक्का पञ्जा’ ले भने सय दिन नै मनाएको थियो । दोस्रो फिल्मले ५१ औं दिन र हाल प्रदर्शनरत ‘छक्का पञ्जा ३’ ले पनि बिहीवारबाट प्रदर्शनको ५१ औं दिन पूरा गरेको छ । 
 
दशैंको घटस्थापनाबाट प्रदर्शनमा आएको उक्त फिल्मले १३ वटा हलमा सफलतापूर्वक ५१ औं दिन मनाएको निर्माता तथा कलाकार दीपकराज गिरीले बताए । उपत्यकामा फिल्मले मल्टिप्लेक्स अन्तर्गत क्युएफएक्सको सिभिल मल, बिग मुभिज, एफक्युब, बिजी मल तथा सिंगल थिएटर अन्तर्गत अष्टनारायण पिक्चर्स, गुण सिनेमा, गंगा सिनेमा, गोपीकृष्ण मुभिज र बाराही मुभिजमा ५१ औं दिन मनाएको हो । 
 
 
यसैगरि मोफसल अन्तर्गत कालिका सिनेमा, क्युएफएक्सको जलमा नारायणगढ र बागेश्वरी नेपालगञ्ज तथा विन्दवासिनी सिनेमा पोखरामा पनि फिल्मले ५१ औं दिन पार गरेको छ । निर्माण टिम ५१ औं दिनको सेलिब्रेसन आइतबार एक कार्यक्रमका बीच गर्ने तयारीमा छ । फिल्मलाई दीपाश्री निरौलाले निर्देशन गरेकी हुन् । यसको अघिल्ला दुई सिरिज पनि उनले नै निर्देशन गरेकी थिइन् । 
फिल्मले ५१ औं मनाउँदै गर्दा वितरकबाट कलेक्सन रिपोर्ट फिल्मीखबरलाई प्राप्त भएको छ । राजधानी वितरक मनोज राठीले ‘छक्का पञ्जा ३’ ले ८ करोड ग्रस कलेक्सन गरेको जानकारी दिए । उनका अनुसार, यसबाट निर्मातालाई करीब ४ करोड शेयर हातमा पर्नेछ । यस्तै, मोफसल वितरणको जिम्मा लिएको एफडी कम्पनीका अध्यक्ष नरेन्द्र महर्जनले फिल्मले ९ करोड ग्रस कमाइ गरेको बताए ।
 
वितरकबाट प्राप्त रिपोर्टलाई टेक्ने हो भने उपत्यका र मोफसलबाट फिल्मले हालसम्म १७ करोड ग्रस कलेक्सन गरिसकेको छ । यो सिरिजको पहिलो भागको लाइफटाइम कलेक्सन १५ करोड नेट थियो । अब ‘छक्का पञ्जा ३’ नेपाली फिल्म इतिहासमा नै सर्वाधिक कलेक्सन गर्ने फिल्म बनेको छ । फिल्ममा दिपकराज गिरी, दीपिका प्रसाइँ, केदार घिमिरे, जितु नेपाल, बुद्धि तामाङ, नीर शाहलगायतको प्रमुख भूमिका छ ।
Most Visited News (monthly)