अभिनेत्री सारा शिर्पाली केही दिनयता अभिनेता अनमोल केसीसँग नाम जोडिएका कारण मिडियाको 'लाइमलाइट' मा छिन् । दुबै प्रेममा रहेको खबर एकाएक बाहिरिएपछि अहिले सिनेवृत तरंगीत बनेको छ । तर, दुबैले साथीको सम्बन्ध स्थापित भए पनि प्रेम नभएको बताएका छन् । इन्टाग्रामबाट दुईको चिनजान भएको हो ।
फिल्म 'पिंजडा' मा सुस्मिता बम्जन (अनमोलकी आमा) सँग काम गरेपछि सारा र अनमोल नजिकिएका थिए । केही पटक भेट भएको साराले बताए पनि यो कुरा अनमोल नकार्छन् । खबरलाई आधार मान्ने हो भने साराको जन्मदिन मनाउन अनमोल नगरकोट समेत पुगेका थिए । तर, यो मिडियाको बनाबटी कुरा रहेको अनमोलको भनाई छ ।

अफेयरको खबर झुट बताइरहे पनि दुबै एकपटक प्रेमको रंगले भने नमज्जाले रंगिएका छन् । अब सारा र अनमोललाई एकअर्कासँग नाम जोडेर वग्रेल्ती गसिपहरु बन्नेछन् । प्रेममा रहेको खबरका कारण 'हटकेक' बनेकी सारालाई अनमोलसँग अनस्क्रिन रोमान्स गर्ने भने इच्छा रहेछ । अनमोल मात्र होइन उनको रोजाईमा अभिनेता प्रदीप खड्का पनि छन् ।
फिल्म 'लिलिबिली' मा उनले नै अभिनेत्री जसिता गुरुङको स्वर डब गरेकी थिइन् । उनले दुबै अभिनेताको फिल्म हेरेको र काम गर्न इच्छा रहेको बताएकी छिन् । भन्छिन्, 'उहाँहरुसँग स्क्रिन शेयर गर्न पाउनु त मेरो भाग्यको कुरा हो ।' उनले प्रदीप र अनमोल पोटेन्सियल एक्टर रहेको पनि बताइन् । अहिले उनी आफ्नो तेस्रो फिल्म 'सुश्री सम्पत्ति' को प्रचारमा व्यस्त छिन् ।
एक्सन स्टार निखिल उप्रेतीको जोडी भएर फिल्म 'रुद्र' बाट डेब्यु गरेकी उनको दोस्रो फिल्म 'पिंजडा ब्याक अगेन' हो । उनी लगभग १ वर्षपछि पर्दामा फर्किन लागेकी हुन् । 'सुश्री सम्पत्ति' मा उनका दुई हिरो छन्, सलोन बस्नेत र विनोद न्यौपाने । सुव्रत आचार्य निर्देशित उक्त फिल्म मंसिर २८ मा रिलिज हुँदैछ । फिल्मको 'हुकुम बक्सियोस्...' गीत अहिले चर्चामा छ ।

