Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

रिलिज अगावै विदेशमा ‘प्रसाद’ को हाई डिमान्ड

फिल्मीखबर, काठमाण्डौ, 2018/11/28
ट्रेलरमा देखिएको पावरफुल कन्टेन्ट र ‘लै लै’ बोलको गीतले निर्माण गरेको हाइपका कारण मंसिर २१ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘प्रसाद’ ले रिलिज अगावै आधाउधी लगानी ओभरसिज राइट्सबाटै उठाउने छाँटकाट देखाएको छ ।  विशेषगरि अहिले युरोपियन मुलुकहरुमा फिल्मको हाई डिमान्ड छ । 
 
युरोप वितरणको अधिकार लिएका सुरज कार्कीका अनुसार, युरोपका ११ देशमा फिल्म प्रदर्शन पक्का भइसकेको छ । ११ देशमा २० शो बुक भइसकेको र अन्य देशबाट पनि फिल्मको माग बढिरहेको उनले बताए । डेनमार्क, पोल्याण्ड, माल्टा, जर्मनी, फिनल्याण्ड, अष्ट्रिया, पोर्चुगल, बेल्जियम, नर्वेमा फिल्म प्रदर्शन हुने तय भइसकेको छ । 
 
फिल्मको पहिलो युरोप शो डिसेम्बर १४ मा फिनल्याण्डमा हुनेछ । एक दर्जन बढी फिल्मको युरोप वितरकका रुपमा काम गरिसकेका कार्कीले ‘छक्का पञ्जा ३’ पछिको उच्च डिमान्डेड फिल्म 'प्रसाद' रहेको बताएका छन् । यसअघि 'छक्का पञ्जा ३' ले युरोपमा अहिलेसम्मकै उच्च ३० शो पाएको थियो । 
 
 
युरोपका अन्य देशबाट फिल्मको माग बढिरहेको बताउँदै उनी 'छक्का पञ्जा ३' कै हाराहारीमा फिल्मको शो हुनेमा विश्वस्त छन् । विदेशमा बस्ने नेपाली दर्शकमा विपिन कार्की, नम्रता श्रेष्ठ र निश्चल बस्नेतको राम्रो क्रेज हुनुका साथै गीतले दर्शकको अत्याधिक मन जितेका कारण युरोपमा फिल्मको उच्च माग रहेको कार्कीको भनाई छ ।  
 
फिल्मलाई युरोपियन देशका फिल्म चल्ने मल्टिप्लेक्स हलहरुमा नै प्रदर्शन गरिने उनले जानकारी दिए । उनका अनुसार, वितरक र हल सञ्चालकले ५०–५० प्रतिशत सेयर बाँडफाड गर्नेछन् । यसबाहेक हल नभएको र कम दर्शक भएको सानो शहरमा दोस्रो चरणमा रेष्टुरेण्टमा फिल्म देखाउने उनको तयारी छ । 
 
यस्तै, नेपालमा प्रदर्शनमा आएकै दिनबाट अष्ट्रेलियामा फिल्म प्रदर्शनको तयारी भइरहेको छ । गोर्खे इन्टरटेनमेण्टका नविन मानन्धरले ७, ८, ९ र १० डिसेम्बरमा 'प्रसाद' अष्ट्रेलियामा प्रदर्शन गर्ने जानकारी दिए । अष्ट्रेलियामा पनि फिल्मको माग उच्च भएको उनले बताए । अष्ट्रेलियाका विभिन्न शहरहरुमा फिल्म प्रदर्शन हुनेछ ।
 
युके, जापान, नर्वे र हङकङलगायतका देशमा पनि फिल्मको माग उच्च रहेको सम्बन्धित वितरकले जानकारी दिएका छन् । सुभाष थापाले निर्माण गरेको फिल्मलाई दिनेश राउतले निर्देशन गरेका हुन् । फिल्ममा राजेश श्रेष्ठको छायांकन, लोकेश बज्राचार्यको सम्पादन, हिमाल केसीको द्वन्द्व र सुशिल पौडेलको लेखन रहेको छ । 
Most Visited News (monthly)