.jpg)
अभिनेत्री रेखा थापाले आफ्ना पछिल्ला फिल्ममा महिलाको कथा-व्यथालाई उठाइरहेकी छन् । एसिड आक्रामणमाथि 'रुद्रप्रिया' बनाइन् र हालै प्रदर्शनमा आएको फिल्म 'मालिका' मा बाल विवाह र दाइजोप्रथा विरुद्धको विषय उठाइन् । उनी अहिले देशमा लामो समयदेखि जरा गाडेर बसेका गम्भीर समस्यालाई फिल्ममार्फत प्रस्तुत गर्दै आइरहेकी छन् ।
रेखाले फिल्ममा मात्र नारी सशक्तिकरणको विषय उठाइरहेकी छैनन् । ‘छोरीका लागि स्वर्णिम अभियान’ अन्तर्गत उनी छोरीहरुको स्वर्णिम भविष्य निर्माणका लागि जागरण गर्ने उद्धेश्य बोकेर देशका विभिन्न ठाउँ पुगिरहेकी छिन् । अब उनको आँखा मधेशका बेटीहरुमाथि परेको छ । मधेश सरकारले लागू गरेको ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियानलाई उनले सघाउने भएकी छन् ।
नायिका थापाले प्रदेशमा उक्त अभियानको लागि एक शान्तीदुतको रुपमा अभियान सञ्चालन गरिएको बताएकी छिन् । प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबू राउतको कार्यालयमा मंगलबार आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै उनले प्रदेश सरकारले सञ्चालन गरेको अभियानमा प्रत्यक्ष रुपमा सघाउने बताइन् ।
उनी भन्छिन्, 'यो अभियानलाई पैसा दिएर होइन, तराई मधेशसहित देशभरिकै जिल्लाहरुमा आफ्नो अधिकारबाट बञ्चित भएकी, महिला हिंसाको सिकार भएकी र सुतेकी छोरीहरुलाई अधिकारको लागि, समृद्धीको लागि जगाउन चाहन्छु । म एउटा जिल्ला मात्र होइन देशको हरेक जिल्ला घुम्न चाहन्छु ।'
उनले प्रदेश नं. २ मा छोरीको शिक्षा सम्बन्धी अभियान तथा महिला हिंसा विरुद्धको अभियानलाई सँगै लैजाने बताइन् । मुख्यमन्त्री राउतले समाजिक रुपान्तरणको अभियानअन्तर्गत सरकारले ल्याएको अभियानमा नायिका रेखा थापाले प्रवद्र्धन गर्ने इच्छा व्यक्त गर्नु प्रदेशकै लागि सुखद रहेको बताए ।

