Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(4 votes, avg 5.00/5.00)
Text size:-
+
-

यसरी जन्मियो ‘प्रसाद’ : लेखक पौडेल

फिल्मीखबर, काठमाण्डौ, 2018/11/27
सुशील पौडेल नेपाली चलचित्रकर्मीमाझ नौलो नाम होइन । दशकदेखि नेपाली चलचित्र पत्रकारितामा नंग्रा खियाएर उनले आफ्नो फरक पहिचान बनाइसकेका छन् । फिल्म बारे गर्ने उनको सटिक समिक्षाको निकै प्रशंसा हुने गर्छ । अब उनको परिचय समीक्षकको रुपमा मात्र सीमित रहेन । मंसिर २१ गते रिलिज हुने फिल्म ‘प्रसाद’ को कथा उनले नै तयार पारेका हुन् । 
 
फिल्मको मेरुदण्ड भनेकै कथा हो । पत्रकार पौडेलले गर्ने समीक्षामा पनि प्रायः फिल्मको कथा- पटकथामाथि नै औंला उठेका छन् । पहिलो पटक उनी स्वयं आफूले लेखेको कथाको तारिफ र गालीको भेल बग्ने मुहानमा छन् । भोली अन्य फिल्मको समीक्षामा कथाको कमी-कमजोरी औंल्याउँदै गर्दा अब उनीतिर पनि औंला सोझिन सक्छ । 
 
 
(सुशील पौडेल - ‘प्रसाद’ लेखक)
 
उनले आफूमाथि प्रश्न उठ्न दिने छन् वा छैनन् ? यसका लागि भने केही दिन कुर्नै पर्ने हुन्छ । उनले फिल्ममा निःसन्तानका कारण पति र पत्निबीचमा आउने उचार चढावको कथा पेश गरेका छन् । सार्वजनिक ट्रेलरले पनि यो बोलिसकेको छ । दिनेश राउत निर्देशित फिल्ममा विपिन कार्की, नम्रता श्रेष्ठ र निश्चल बस्नेत केन्द्रिय भूमिकामा छन् । 
 
लेखक पौडेललाई ‘प्रसाद’ को कन्सेप्ट ९ कक्षामा पढ्दै गर्दा नै आएको रहेछ । यो विषय कसरी दिमागमा जन्मियो उनलाई सम्झना छैन । तर, यस विषयले आफूलाई उकुस-मुकुस बनाएको उनी बताउँछन् । गाली खाने डरले सानै उमेरमा दिमागमा जन्मिएको यो विषय उनले कसैलाई सुनाउने आँट नै गरेनन् । कन्सेप्टको विकास भएपछि त्यसले आफूलाई पटक-पटक 'हिट' गरिरहेको उनी सम्झन्छन् ।
 
उनले निर्देशक राउतलाई समेत घुमाउरो शैलीमा आफ्नो दिमागमा फुरेको कन्सेप्ट सुनाएका रहेछन् । 'मेरो दिमागमा ह्याङ भएर बसेको विषयमा फिल्म बन्न सक्ला कि नसक्ला ? भनेर मैले निर्देशक राउतलाई सोधेको थिएँ । उहाँले अलि चासो देखाएपछि कन्सेप्टलाई कथाको रुप दिएको हुँ', उनले भने । 'यो चरित्रमा यो कलाकार हुनुपर्छ' भन्ने सोचेर कथाको विकास नगरेको पनि उनी बताउँछन् । 
 
प्रदर्शनको पखाईमा रहेको फिल्म ‘प्रसाद’ को ‘लै लै...’ बोलको गीतले राम्रो हाइप निर्माण गरेको छ भने, सार्वजनिक ट्रेलरले फिल्मप्रति  दर्शकमा अपेक्षा बढेको छ । लभस्टोरी फिल्ममा आफूलाई अब्बल साबित गरेका निर्देशक राउतले फरक कन्टेन्टमा उठाएको जोखिम कति शक्तिशाली होला ? धेरैका लागि प्रतिक्षाको विषय बनेको छ । 
Most Visited News (monthly)