आफ्नो वास्तविक नामले भन्दा भिन्नभिन्नै पात्रमार्फत परिचित हुनु एउटा कलाकारका लागि ठूलो सफलता हो । यसअर्थमा विपिन कार्की सफल अभिनेताको सूचीमा दरिन्छन् । ‘छड्के’ मा विन्दू माझी, ‘ताण्डव’ मा रक्साहा ड्राइभर, ‘सुन्तली’ मा चोर र ‘हरि’ मा उनले एकै फिल्ममा चार चरित्र निभाए ।
फिल्म ‘पशुपतिप्रसाद’ मा भस्मे डनको भूमिका गरेपछि उनको लोकप्रियता चुलिएको थियो । हरेक फिल्मको क्यारेक्टरमा भर्सट्यालिटी प्रस्तुत गर्ने उनी अहिलेका डिमान्डेड अभिनेतामा पर्दछन् । उनको लिड रोल रहेका फिल्म बक्सअफिसमा खासै सफल नभए पनि हरेक फिल्ममा निभाउने चरित्रले उनलाई आम अभिनेताभन्दा अलग बनाएको छ ।
दर्शक केन्द्रित नभइ क्रिटिक्सको तारिफका लागि फिल्म गरिरहेको आरोपबाट बर्षौंदेखि मुक्त हुन नसकेका विपिनको यही मंसिर २१ गते फिल्म 'प्रसाद' प्रदर्शनमा आउँदैछ । यसमा उनले एक गाउँले दलितको भूमिका निभाएका छन् । साथमा निःसन्तान पुरुष पनि । उनको अपोजिटमा गिनेचुनेकी अभिनेत्री नम्रता श्रेष्ठ छिन् । दिनेश राउतले फिल्म निर्देशन गरेका हुन् भने निश्चल बस्नेत पनि प्रमुख भूमिकामा छन् ।
अभिनेता कार्कीलाई लाग्छ, समयसमयमा आत्मसन्तुष्टिका लागि पनि फिल्म गर्नुपर्छ । 'मलाई के कुरा मन लाग्छ त्यो पनि त मैले गर्न पाउनु पर्यो नि !', उनी भन्छन्, 'कसैलाई मन परेन तर मलाई मन पर्यो भने म गर्छु । फिल्म 'हरि' त्यसभित्रै पर्छ ।' चार चरित्र निभाएको उक्त फिल्मलाई उनी अहिलेसम्मकै सबैभन्दा सन्तुष्ट भएको फिल्म भन्न रुचाउँछन् । यो फिल्ममा उनले निभाएको भूमिकालाई दर्शक र समीक्षकले निकै रुचाएका थिए ।
(अभिनेता विपिन कार्की)
'हरेक तरिकाबाट मेरो लागि 'हरि' माइलस्टोन नै हो । भोली 'हरि' जस्ता फिल्मबाट अफर आए अरु फिल्म छाडेर भए पनि गर्छु', उनी भन्छन् । विपिन 'प्रसाद' मा निभाएको भूमिकाबाट पनि सन्तुष्ट रहेको सुनिए । उनले उक्त फिल्ममा चौथो पटक दलितको भूमिका निभाएको बताए । यसअघि एक नाटकमा पनि दलितको भूमिका निभाएको सम्झन्छन् उनी ।
'चार पटक दलित भएर फिल्म गरिसकेका कारण एक प्रकारको 'भावनात्मक अट्याचमेन्ट' पनि हुँदो रहेछ । मलाई यो क्यारेक्टर गर्न अझै पगेको रहेनछ भन्ने महशुस हुन्छ । अझै धेरै समस्याहरु रहेछन् । अझै धेरै कुराहरु छाडेका रहेछौं भन्ने लाग्छ', उनले भने । आफूलाई फरक जनराका फिल्म गरिरहेको लागे पनि दर्शकलाई त्यो महशुस नभएको उनी स्वीकार्छन् ।
आफ्ना पछिल्ला फिल्मले बक्सअफिसमा अपेक्षाकृत विजनेश गर्न नसकेको भन्न पनि उनलाई गाह्रो लाग्दैन । उनी निर्धक्क भन्छन्, 'हो, मैले १० लाख विजनेश गर्ने फिल्म मात्र गरिरा'छ । तर, त्यो मेरो कमजोरी हो जस्तो लाग्दैन । मैले काम कस्तो गरें भन्ने चाहिँ महत्वपूर्ण हुन्छ होला जस्तो लाग्छ ।' फिल्म सफल वा असफल भन्दा पनि कामको मुल्यांकन हुनु पर्ने तर्क उनको छ ।
एक हप्ता अगाडि मोटरसाइकल दुर्घटनामा दाहिने खुट्टा फ्याक्चर भएपछि 'बेड रेस्ट' मा रहेका उनका यस वर्ष लगातार तीन महिनाको अन्तरमा तीन फिल्म प्रदर्शनमा आउँदैछ । 'प्रसाद' पछि माघ १८ मा 'गोपी' र फागुन १७ मा 'जात्रै जात्रा' रिलिज हुँदैछ । उनी लगातार पर्दामा आइरहने अभिनेताको कोटीमा पर्दैनन् । तर, यस वर्ष उनले नचाहँदा नचाहँदै लगातार पर्दामा आइरहनु पर्ने अवस्था सृजना भएको छ ।
विपिनले 'गोपी' पछाडिको प्रोजेक्ट भए पनि टिमले अगाडि सारेको दुखेसो पोखे । 'म त 'प्रसाद' पछि 'जात्रै जात्रा' गर्ने सोचमा थिएँ । 'गोपी' मैले परिबन्दमा परेर गरेको हुँ । नत्र यति चाँडो मलाई फिल्म गर्नु थिएनँ । खगेन्द्र दाईले छाडेपछि मैले गर्नैपर्ने भयो । छोटो समयमा केही मिहिनेत गरे गर्न सक्छु भन्ने लागेर 'गोपी' गरें ।' फिल्म रिलिजको अन्तर कम भए पनि काम कमजोर नभए आफू सफल भएको ठान्ने उनी बताउँछन् ।

