प्रेमकी गीत अर्थात अभिनेत्री पूजा शर्मा । 'मधुमास', 'अझैपनि', 'चंखे शंखे पंखे' फिल्म गरेर पनि दर्शकको नजरमा पर्न नसकेकी उनका लागि फिल्म 'प्रेमगीत' सञ्जीवनी बुटी बनेर आएको थियो । अभिनेता प्रदीप खड्कासँग उनको जोडीलाई दर्शकले निकै रुचाए । अझै पनि उनको सुहाएको जोडीको नाम आउँदा प्रदीप पहिलो नम्बरमा आउँछन् ।
'प्रेमगीत' पछि करिअरलाई पछाडि फर्किएर हेर्नुपर्ने अवस्थाको अभिनेत्री पूजाले सामना गर्नु परेको छैन । फिल्म 'म यस्तो गीत गाउँछु' पनि सुपरहिट भएपछि उनलाई नचिन्ने शहरिया युवापुस्ता अब सायदै होलान् । नयाँ फिल्म 'रामकहानी' पनि उनको करिअरमा एउटा मजबुत इट्टा साबित भयो । अहिले उनको नाममा नै दर्शकलाई हलसम्म डोर्याउन सक्ने तागत छ ।
(2).jpg)
चाँडै निर्देशक सुदर्शन थापाको नयाँ प्रोजेक्ट 'सम्हालिन्छ कहिले मन' मा काम गर्ने तयारीमा रहेकी उनले आफूले आफैंलाई हिट हिरोइनको ट्याग दिएकी छन् । यो आफैंमा अनौठो लाग्ने कुरा हो । विश्वमा कुनै कलाकार छैनन् होला, जसले आफूले आफूलाई हिटको ट्याग दिएका हुन् । चाहे विश्व प्रख्यात सुपरस्टार नै किन नहुन् । तर, पूजा आफूलाई हिट हिरोइन भन्न रुचाउँछिन् ।
हालै एक युट्युब च्यानलमा अभिनेत्री शिल्पा पोखरेलसँग संयुक्त अन्तर्वार्ता दिँदै उनले आफू स्वयंलाई 'हिट' बताएकी हुन् । सञ्चालिकाले शिल्पालाई प्रश्न गरिन्, 'पूजाको 'प्रेमगीत' राम्रो चलेपछि मभन्दा उसको राम्रो भयो भनेर इगो पलाएन ? तर, उत्तर शिल्पाभन्दा अगाडि पूजाले फर्काइन् । उनले भनिन्, 'ऊ त मभन्दा अगाडि नै हिट थियो । म त पछि 'हिट' भएको हुँ ।'
'म त पछि हिट भएको हुँ' भन्ने उनको जवाफ आफैंमा राम्रो सुनिन्न । हिट आफूले आफूलाई भन्ने कि दर्शक र मिडियाले ? पूजा अहिलेकी 'हिट' अभिनेत्री नै हुन् तर यो कुरा उनी आफैंले आफूलाई भन्नु पाच्य नहुन सक्छ । हुनत, उनी आफ्नै अभिव्यक्तिका कारण विवादमा फसिरहने अभिनेत्री हुन् । उनको अभिव्यक्तिमा अझै परिपक्वता होइन, बचपना देखिन्छ ।

