अभिनेता प्रदीप खड्का आबद्ध फिल्म विवादरहित हुनसकेका छैनन् । 'प्रेमगीत', 'लिलिबिली' र 'रोज' मा काम गरेपछि निर्माता/निर्देशकसँग उनको पानी बाराबार भयो । निर्माणको तयारीमा रहेको साइन प्रोजेक्ट 'भैरवी' टिमसँग पनि विवादको खबर आइरहेको छ । अब यो शिलशिला फिल्म ‘लभ स्टेशन’ मा पनि देखिएको छ ।
यसपटक उनको टिमसँग होइन, निर्माता र निर्देशकबीच मनमुटावको खबर बाहिरिएको छ । बुधबार साँझ ललितपुरको गोदावरी रिसोर्टमा निर्देशक उज्जवल घिमिरेले कलाकारको उपस्थितिमा केक काटेर खुसीयाली मनाए । सोही साँझ काठमाडौंको होटल उडल्याण्डमा निर्माता गोविन्द शाहीले इन्डक्ल्याप भन्दै केक काटेर सेलिब्रेसन गरे ।
रोचक कुरा के छ भने निर्देशकले केक काट्दा निर्माता उपस्थित छैनन् अनि निर्माताले सेलिब्रेसन गर्दा निर्देशक देखिएका छैनन् । अभिनेत्री जसिता गुरुङले आफ्नो भागको सिन सकिएको खुसीमा उनकै आग्रहमा केक काटिएको तर इन्डक्ल्याप केक भने नभएको निर्देशक घिमिरे बताउँछन् । निर्माता शाहीले आफूलाई जसिताले सरप्राइज दिएको बताए । भन्छन्, 'अब गीत खिच्न मात्र बाँकी छ । इन्डक्ल्याप केक भन्दा पनि गलत हुन्न ।'

अब कसको कुरामा विश्वास गर्ने, निर्देशक कि निर्माताको ? फिल्मको इन्डक्ल्याप केक काटिएको हो वा जसिताको सिन सकिएको खुसीमा ? यसलाई सामान्य रुपमा भने हेर्न सकिन्न । स्रोतका अनुसार, फिल्मको आधाउधी छायांकन नसकिँदै निर्माता र निर्देशकबीच मनमुटाव सुरु भएको थियो । अब यो विस्तारै छताछुल्ल हुँदै गएको छ ।
निर्देशक र निर्माताले छुट्टाछुट्टै केक काटेर सेलिब्रेसन गर्नु, निर्माताले फिल्मको इन्डक्ल्यापको केक काटेको बताउनु तर निर्देशकले इन्डक्ल्यापको नभइ जसिताको आग्रहमा केक काटेको भन्नु, केक काट्ने समयमा निर्देशक र निर्माता एकअर्काकोमा उपस्थित नहुनुले निर्देशक घिमिरे र निर्माता शाहीबीच बढेको असमझदारीलाई थप उदाङ्गो पारेको छ ।
बुधबार निर्माण टिमका एक सदस्यले फिल्मको इन्डक्ल्यापमा केक काटिएका तश्बिर भन्दै रंग पत्रकारहरुलाई आधिकारिक इमेल पठाएका छन् । प्राप्त इमेलमा निर्माता र निर्देशकले छुट्टाछुट्टै केक काटेका तश्बिर सामेल छन् भने फरक-फरक रंगका ‘लभ स्टेशन’ लेखिएका केकका तश्बिर पनि छन् । निर्देशक र निर्माता दुवै मनमुटावका कारण भिन्न भिन्नै केक काटेको अस्वीकार गर्छन् ।

