अचेल नेपाली फिल्म जति निर्माण हुन्छन् लगभग त्यही संख्यामा केक काटिने गरेका छन् । छायांकन सकियो केक, राम्रो कमायो केक, गीतले करोड भ्यूज बटुल्यो केक, विदेशमा फिल्म बेच्नका लागि केक । यस्तो लाग्दैछ अब फिल्मको होइन केकको व्यापार बढ्दैछ ।
.jpg)
चकलेटी अभिनेता प्रदीप खड्का र अभिनेत्री जसिता गुरुङले दोस्रो पटक सहकार्य गरेको फिल्म ‘लभ स्टेशन’ को इन्डक्ल्याप पनि केक काटेर गरिएको छ । बुधबार बेलुका ललितपुरको गोदावरी रिसोर्टमा केही दृश्य कैद गरेपछि फिल्मको छायांकन सकिएको हो ।
यो फिल्मलाई उज्ज्वल घिमिरेले निर्देशन गरेका हुन् । निर्देशक घिमिरेका अनुसार, अब बाँकी दुई गीतमध्ये हिउँ राम्ररी परेपछि एउटा गीतको मनाङमा र अर्को गीत आगामी अंग्रेजी नयाँ वर्षको छेको पारेर जापानमा छायांकन गरिने छ । चाँडै फस्ट लुक्समार्फत फिल्मको रिलिज डेट घोषणा गरिँदैछ ।
यसका प्रस्तुतकर्ता गोविन्द शाही हुन् । प्रेमकथामा आधारित यो फिल्मको दार्जलिङ, कलिङपोङ, मिरिक, फिक्कल, कन्याम, इलाम, श्रीअन्तु हुँदै काठमाडौं उपत्यकामा छायांकन गरिएको छ । फिल्ममा प्रदीप र जसिताका अलावा रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, बिनोद कुमार पौड्याललगायतको अभिनय छ ।
.jpg)
'लभ स्टेशन' लाई काफिया फिल्मस्को व्यानरमा काफिया शाही (क्रिसु) र कविरबिक्रम शाहीले निर्माण गरेका हुन् । आलोक शुक्लाको छायांकन रहेको फिल्ममा शम्भुजीत बासकोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको संगीत छ । यो फिल्मको निर्माण नियन्त्रकमा राजेन्द्र रावल छन् ।

