अचेल वर्षमा सरदर सय बढी फिल्म रिलिज हुन्छन् । तर, एक वर्षमा ५२ वटा मात्र हप्ता हुन्छ । यसकारण अब कुनै फिल्मको सोलो रिलिज असम्भव छ । हरेक हप्ता दुईभन्दा बढी फिल्म जुध्नु सामान्य बन्दै गर्दा बेलाबखतमा ठूला ब्यानर र गिनेचुनेका कलाकार भएका फिल्म भिड्दा भने ठूलै हलचल मच्चिने गर्छ ।
नेपालमा ठूला स्टारका फिल्मले प्रायः सोलो रिलिजको अवसर पाउँछन् । हल नपाउनु र दर्शक चलेकै कलाकारको फिल्म हेर्न जाने हुँदा साना स्टारका फिल्म ओभानै बस्छन् । नेपालमा मात्र होइन हलिउड/बलिउडमा पनि यो देखिँदै आएको कुरा हो । तर, लगातार विदा परे र कुनै विशेष पर्व भए अब ठूला भनिने फिल्म नै एकअर्कासँग भिड्न थालेका छन् ।
प्रदीप खड्काको 'रोज' र पूजा शर्माको 'रामकहानी' जुध्नु यसको एक प्रमाण हो । विदा राम्रो परे चाहे फिल्ममा चलेका कलाकार हुन् वा नयाँ नै किन नहुन्, अब भिडन्त निश्चित छ । उदाहरणका लागि अभिनेता अनमोल केसी काफी छन् । केही वर्ष अगाडिसम्म उनका फिल्म भनेपछि कुना पस्ने निर्माता अब छाती ठूलो बनाएर आमने-सामने हुन तयार देखिन थालेका छन् ।

फागुन १७ गते उनी अभिनीत फिल्म 'क्याप्टेन' सँग भिड्न हिट फिल्म 'जात्रा' को सिक्वेल तयार छ । यो फिल्मसँग भिड्नु अनमोलका लागि 'फलामको चिउरा चपाउनु' भन्दा कम हुने छैन । 'जात्रै जात्रा' का लागि पनि सहज भने छैन । 'ड्रिम्स' सँग 'फूलै फूलको मौसम तिमीलाई' जुध्दा भएको जित-हार सबैमाझ छर्लङ्ग छ । तर, नतिजा सँधै पुरानै दोहोरिन्छ भन्ने पनि त छैन ।
'जात्रै जात्रा' सँग मात्र होइन यस वर्ष अनमोल छोटो अवधिमै धेरै फ्यान फलोइंग बटुल्ने अभिनेतासँग पनि जुध्नु पर्ने भएको छ । 'क्याप्टेन' रिलिजको डेढ महिनाको अन्तरमा रिलिज हुन लागेको फिल्म 'ए मेरो हजुर ३' सँग भिड्न सोही फिल्मको दोस्रो सिरिजबाट जन्मिएका अभिनेता सलिनमान बनियाँ अभिनीत फिल्म 'यात्रा' ले कम्मर कसेको छ । चैत २९ मा दुई फिल्मको महासंग्राम हुने तय भएको छ ।
डेब्यु फिल्मबाटै अभिनेता बनियाँले शहरिया युवापुस्तामा आफ्नो बलियो पकड बनाएका छन् । आफूलाई सुपरस्टार मान्ने/भनिने अभिनेतालाई उनी 'थ्रेट' मानिन थालिएको छ । उनीसँग भिडन्त गर्नु अनमोलका लागि खुट्टाले कमिलो कुल्चिएजस्तो भने हुने छैन । हुनत, फिल्म चल्न अनमोलको नामै काफी छ तर के प्रदीपको 'रोज' माथि आकाश श्रेष्ठको 'रामकहानी' पहाड बनेन र ?
अब चैत २९ को भिडन्तमा को कति पानीमा हुनेछ ? प्रतिक्षा गर्नै पर्ने हुन्छ । चर्चा त 'ए मेरो हजुर ३' उक्त मितिमा नआउने पनि छ । किनकी, अनमोल आफ्नो फिल्मको रिलिज अन्तर सकभर ६ महिना चाहन्छन् । अब 'यात्रा' आएपछि भने अनमोललाई फसाद परेको छ । डेट छाडौं सलिनमानसँग डराएको ट्याग, नछाडौं डेढ महिनामा नै दुई फिल्म । परेन त फसाद !

