Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 5.00/5.00)
Text size:-
+
-

मलाई फिल्मभरी ममात्रै हुने रहर छैन : नम्रता श्रेष्ठ

फिल्मीखबर, काठमाण्डौ, 2018/11/21
हत्तपत्त फिल्म गर्दिनन् अभिनेत्री नम्रता श्रेष्ठ । न उनलाई महिनैपिच्छे पर्दामा आउन हतार हुन्छ न त जुनसुकै फिल्म गरिहाल्न नै । सुन्दरता र अभिनयकी खानी उनी एकैखाले भूमिकामा पनि रमाउन चाहन्नन् । हरेक फिल्ममा फरक भूमिका उनका लागि अपरिहार्य हुन्छ । 
 
'छड्के', 'ताण्डव', 'क्लासिक', 'नोभेम्बर रेन', 'मेरो एउटा साथी छ' लगायतका फिल्ममा उनले निभाएको भूमिका दर्शकको मनस्पटलमा अझै ताजा छ । चुनौतीपूर्ण भूमिकासँग पैंठेजोरी खेल्ने उनी लगभग १८ महिनादेखि पर्दामा देखिएकी छैनन् । उनी अभिनीत पछिल्लो फिल्म 'पर्व' हो । अब रिलिजको तरखरमा 'प्रसाद' र 'जाइरा' छन् । 
 
यसमध्ये 'प्रसाद' मंसिर २१ मा रिलिज हुँदैछ भने 'जाइरा' को अझै टुंगो लागेको छैन । दुवै फिल्ममा उनी फरक-फरक भूमिकामा छिन् । उनी भूमिकालाई न्याय दिन आफूलाई जुनसुकै गेटअपमा रुपान्तरित गर्न पनि हिचकिचाउँदिनन् । फिल्म 'जाइरा' मा कपाल मुडुलो बनाएर बक्सर बनेकी छिन् । अनि, 'प्रसाद' मा निःसन्तान पत्नी । 
 
उनी हरेक पात्र गर्दा चुनौतीपूर्ण भूमिका निभाएको महशुस हुने बताउँछिन् । भन्छिन्, 'हरेक नयाँ प्रोजेक्ट गर्दा क्यारेक्टरमा नयाँपन दिन्छु भन्ने हुन्छ र त्यो क्यारेक्टरलाई जस्टिफाई गरुँ भन्ने सोच हुन्छ । यसैले हरेक फिल्ममा निभाउने पात्रलाई म चुनौतीपूर्ण सम्झन्छु ।' उनले 'प्रसाद' लाई लिएर नर्भस भएको पनि बताइन् । 
 
 
फिल्मको रिलिज नजिकिँदै गर्दा उनलाई डर र उत्साह दुवै रहेछ । 'कस्तो हुने हो भन्ने डर एकातिर छ भने फरक भूमिका निभाएका कारण उत्साह पनि छ । डेढ वर्षपछि पर्दामा आउन लागेका कारण दर्शक भेट्न पनि आतुर छु ', उनी भन्छिन् । उनले आफूलाई दर्शकले लभस्टोरी फिल्ममा मात्र रुचाएको कुराको पनि खण्डन गर्न भ्याइन् । 
 
उनी मिडिया र फिल्म मेकर्सले मात्र आफूलाई लभस्टोरी फिल्ममा रुचाएको तर्क पेश गर्छिन् । दर्शकले 'छड्के', 'ताण्डव' जस्ता फिल्म रुचाएको बताउँदै नम्रता अगाडि भन्छिन्, 'फेसबुक, इन्स्टामा मलाई लभस्टोरीभन्दा फरक जनराको फिल्म गर्न आग्रहका म्यासेजहरु धेरै छन् । 'जाइरा' कहिले आउँछ भन्ने प्रश्न बढी हुन्छ । यसैले दर्शकले मलाई फरक भूमिकामा हेर्न चाहन्नुहुन्छ भन्ने लाग्छ ।' 
 
दर्शकले खोजेको फरक भूमिकामध्ये 'प्रसाद' मा निभाएको भूमिका एक रहेको उनको भनाई छ । आफूलाई फिल्मभरी हुन कुनै चाहना नभएको पनि उनी बताउँछिन् । 'मेरो फिल्ममा म 'थ्रु आउट' कहिल्यै हुँदिनँ । तर, मेरो क्यारेक्टरले त्यो स्टोरी र फिल्ममा इम्प्याक्ट पारोस् भन्ने सोच हुन्छ', उनी भन्छिन् । 'प्रसाद' मा उनको अपोजिटमा अभिनेता विपिन कार्की छन् । 
 
दिनेश राउत निर्देशित फिल्ममा निर्देशक निश्चल बस्नेत पनि प्रमुख भूमिकामा छन् । ‘लै लै’ बोलको गीतले नै यो फिल्मको राम्रो हाइप निर्माण गरेको छ । यस्तै, सार्वजनिक ट्रेलरले दर्शकमा फिल्मप्रति अपेक्षा बढाएको छ । गीतले चुलाएको हाइप र ट्रेलरले बढाएको अपेक्षामाथि फिल्म कति खरो उत्रने हो ? हेर्न बाँकी छ । 
Most Visited News (monthly)