निर्देशक निश्चल बस्नेत करीब २ वर्षदेखि फिल्म निर्देशनबाट टाढा छन् । ‘लुट २’ बाट घैंटोमा घाम लागेको बताउने उनको अहिले अभिनय र निर्माणमा बढी सक्रियता देखिएको छ । मंसिर २१ गते उनी अभिनीत फिल्म 'प्रसाद' रिलिज हुँदैछ भने अर्को फिल्म ‘गरुड पुराण’ को गीतमा पनि देखिँदैछन् ।

बिहीवार सार्वजनिक हुने फिल्मको ‘म त पिरिममा’ बोलको गीतमा निश्चलले ठुम्का लगाएका छन् । उनको नृत्य रहेका ‘काले दाई’, ‘हावा चल्यो’ लगायतका गीत हिट छन् । अब ‘गरुड पुराण’ को गीत कस्तो हुने हो ? हेर्न बाँकी छ । माघ ४ मा रिलिज हुने फिल्ममा उनको अभिनय छ वा छैन ? निर्माण टिमले खुलाएको छैन ।
गीतमा निश्चलसँगै कर्मा, प्रियंका सिंह ठकुरी र अन्जली योन्जन देखिएका छन् । गीतमा कोशिश क्षेत्री संगीत रहेको छ भने यसलाई दिनेश राउतले लेखेका हुन् । गीतमा कोशिश र मनिषा पोखरेलको आवाज रहेको छ । कोरियोग्राफी रेनाशा वान्तवा राईले गरेकी छिन् ।
पारिवारिक प्रेमकथामा आधारित ‘गरुड पुराण’ हास्य प्रधान जनरामा तयार भएको निर्देशक सुबास कोइरालाले बताए । नाजिर हुसेन, प्रविण खतिवडा, कामेश्वर चौरसिया, लुमिना तुलाधर, बसन्ध भट्ट, प्रकाश घिमिरे, कमल देवकोटालगायतका कलाकारहरुको पनि फिल्ममा अभिनय छ ।

