अभिनेता अनमोल केसी स्टारर फिल्म ‘ए मेरो हजुर ३’ ले तोकेको प्रदर्शन मितिमा अभिनेता सलिनमान बनियाँ अभिनीत फिल्म ‘यात्रा’ पनि लाग्ने तय भएको छ । यस वर्षको चैत २९ गते दुई फिल्म भिड्न लागेका हुन् । निर्माता केशव भट्टराईको जन्मदिनमा ‘यात्रा’ को रिलिज चैत २९ लाई घोषणा गरिएको हो ।
सम्राट शाक्यको डेब्यु निर्देशन रहेको फिल्मको अफिसियल पोस्टर पनि सार्वजनिक गरिएको छ । पोस्टरमा अभिनेता बनियाँको क्यारेक्टरलाई प्रस्ट्याईएको छ । फिल्ममा उनी भ्लगरको भूमिकामा छन् । सलिनसँगै सलोन बस्नेत, जान्वी बस्नेत, प्रेक्षा बज्राचार्य, धिरेन शाक्य, राजाराम पौडेललगायतको फिल्ममा अभिनय छ ।
यही फिल्मबाट मल्लिका महतले डेब्यु गरेकी छिन् भने विदेशी कलाकारहरु चाइनाका जुन झाङ र केन्याका बबीको पनि अभिनय रहेको छ । फिल्ममा बालकलाकारको रुपमा पछिल्लो समय युट्युबमा चर्चा रहेका अंकित संग्रौला र एन्जल राई रहेका छन् ।

निर्माता भट्टराईले फिल्मको लगानीलाई मध्यनजर गर्दै चैत २९ रोजिएको बताए । निर्देशक सम्राट फिल्मलाई राम्रो बनाउन कुनै कसुर बाँकी नराखेको बताउँछन् । भन्छन्, 'फिल्मले दर्शकको समय र पैसाको सदुपयोग नै गराउँछ । फिल्मले युवा पुस्ताको मित्रता र मायाको कथा बोकेको छ ।'
फिल्मलाई जर्नी लभस्टोरी भनिएको छ भने यसमा यात्राले ल्याउने परिस्थितिलाई देखाइनेछ । फिल्मलाई केशव भट्टराई र सुशील पोखरेलले संयुक्त रुपमा निर्माण गरेका हुन् । यसको कार्यकारी निर्माता सर्जुमान लिगल रहेका छन् । फिल्ममा बिक्रम पराजुली, मुक्ति तिमल्सिना र रामशरण घिमिरे सह-निर्माता छन् ।
फिल्ममा कथा पनि निर्देशक स्वयंको छ । संजय लामाको छायांकन रहेको फिल्ममा कविराज गहतराज र प्रविन सिंहको कोरियोग्राफी, हिमाल केसीको द्वन्द र बनिश शाहको सम्पादन छ । फिल्ममा वरिष्ठ संगीतकार शम्भुजित बास्कोटा, प्रतिक पौडेल र कोविद बज्रको संगीत रहेको छ ।

