Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

शिल्पालाई फिल्मबाट रित्तो हात, भिडियोबाट अवार्ड

फिल्मीखबर, काठमाण्डौ, 2018/11/20
छविराज प्रोडक्सनकी भरपर्दी अभिनेत्री हुन् शिल्पा पोखरेल । अभिनेत्री रेखा थापासँग बैबाहिक सम्बन्धको अन्त्य भएपछि निर्माता छविराज ओझाले फिल्म 'लज्जा' बाट उनलाई भित्राएका थिए । यसअघि उनलाई भिडियोमा भ्याइनभ्याइ थियो । डेब्यु फिल्म हिट भएपछि उनलाई अहिले ठूलो पर्दा नै प्रिय बनेको छ । 
 
गत वर्ष फिल्म 'मंगलम' मा देखिएकी शिल्पाको यस वर्ष 'वीराङ्गना' रिलिज भयो अब पुष २७ मा फिल्म 'भिलेन' रिलिज हुँदैछ । रोचक कुरा त के छ भने उनले छविराज ब्यानरका जति फिल्म गरेकी छन् ती सबै बक्सअफिसमा हिट छन् । तर, बाहिरी ब्यानरका फिल्मले सिन्को भाँच्न सकेका छैनन् । 
 
यसका तात्ताता उदाहरण 'वीराङ्गना', 'फागु', 'बृन्दावन' र 'हामी शरणार्थी' हुन् । 'लज्जा' बाट भित्रिँदै गर्दा उनलाई रेखा थापा विर्साउने अभिनेत्रीको रुपमा चित्रण गरिएको थियो । तर, उनी जति चाँडो चर्चामा आइन् उति नै चाँडो ओरालो यात्रामा निस्किएकी छन् । अभिनयको चर्चा हुने गरे पनि उनको करिअर सुर र ताल दुवै नमिलेको संगीतजस्तो भएको छ । 
 
 
अहिले उनी छविराज ओझाका फिल्म र नामै नसुनेका ब्यानरमा मात्र सीमित छिन् । गिनेचुनेका ब्यानरको आँखामा अझै उनी योग्य देखिएकी छैनन् । ठूला ब्यानरका बाहिरी फिल्मबाट अफर नआएको पीडा मात्र होइन, आधा दर्जन फिल्म गर्दा पनि अवार्ड हात पार्न नसकेको यथार्थ पनि उनीसँग छ । 
 
फिल्म 'मंगलम' बाट अभिनेता पुष्प खड्काले लगातार अवार्ड उचालिरहँदा उनको हातमा एउटा जुरेको छैन । नोमिनेसनमा उनी अट्छिन् तर अवार्ड अर्कै अभिनेत्रीको पोल्टामा पर्छ । यसैले त होला उनलाई अवार्ड कार्यक्रममा निकै कम देख्न पाइन्छ । हुनत, यहाँ जो कार्यक्रममा उपस्थित भयो उसैले अवार्ड पाउने परम्परा छ । 
 
फिल्मबाट अवार्ड उचाल्न नपाएपनि अभिनेत्री शिल्पा पोखरेलले सोमवार म्यूजिक भिडियोबाट भने अवार्ड जितेकी छन् । फिल्मबाट उत्कृष्ट अभिनेत्रीको अवार्ड चुम्ने चाहना अधुरै रहँदा 'सगरमाथा म्यूजिक अवार्ड' मा उनले उत्कृष्ट मोडलको अवार्ड आफ्नो पक्षमा गरिन् । अवार्ड पाउँदाको खुसी उनले फेसबुकमार्फत बाँडेकी छन् । 
Most Visited News (monthly)