करीब ८ महिना घोषणा भएको फिल्म हो ‘भैरवी’ । ‘नोभेम्बर रेन’ फेम्ड निर्देशक दिनेश राउतले निर्देशन गर्ने, ‘कृ’ निर्माता सुवास गिरीले निर्माण गर्ने र अहिलेका चलेका अभिनेता प्रदीप खड्काको फिल्ममा प्रमुख भूमिका रहने तय भएको थियो । चर्चा त प्रदीपको हिरोइनमा अभिनेत्री साम्राज्ञी आरएल शाह हुने पनि थियो ।
मिडियामा फिल्म साइन गरेको खबर बाहिरिएपछि अभिनेत्रीले यो कुराको खण्डन गर्दै 'कायरा' का लागि उक्त फिल्म गर्न नसकेको खुलाएकी थिइन् । प्राप्त जानकारी अनुसार, कागजी सम्झौतामा अभिनेता प्रदीपले 'लिलिबिली' पछि यो प्रोजेक्ट गर्ने उल्लेख छ । उनले ५ लाख साईनिङ अमाउन्ट पनि बुझिसकेका छन् ।
फिल्मको स्क्रिप्टमा काम भइरहेको जानकारी निर्माण टिमले बताइरहँदा गएको महिना एकाएक एक खबर बाहिरियो, 'फिल्मबाट प्रदीप बाहिरिँदैछन् ।' निर्माता-निर्देशकले भेट्न बोलाउँदा बेवास्था गरेको र लगातार फिल्म गरेको भन्दै निर्माताले उनको ठाउँमा अभिनेता पल शाह भित्राउन लागेको चर्चा सिनेवृतमा छ ।

यस विषयमा निर्माण टिम मौन रहँदा अभिनेता खड्काले भने हालै फिल्मीखबरसँग कुराकानी गर्दै समय मिलाएर ‘भैरवी’ गर्न तयार रहेको बताएका थिए । 'तत्काल चाहिँ सम्भव छैन । केही फिल्म मेरा लाइपलाइनमा छन्', उनले लगभग १ वा डेढ वर्ष कुर्नु पर्ने आशय व्यक्त गरे । के निर्माण टिम उनलाई पर्खन तयार छ ?
हाल आफू निर्देशित फिल्म 'प्रसाद' को प्रचारमा व्यस्त निर्देशक राउतले स्क्रिप्ट तयार भएपछि कलाकारका लागि फिल्मको सुटिङ नरोकिने स्पष्ट पारे । फिल्ममा महँगो बजेट खर्च हुने हुँदा प्रोडक्सन टिमसँग अहिले छलफल चलिरहेको उनले बताए । भन्छन्, 'स्टोरीले डिमान्ड गरेको कुरा पूरा गर्न सक्छौं कि सक्दैनौं भन्ने कुरामा अहिले वर्क आउट भइरहेको छ ।'
उनी थप्छन्, 'स्क्रिप्ट राइटरले स्क्रिप्टको काम गरिरहनु भएको छ । म पनि फुर्सदको बेला स्क्रिप्टमा छलफल गरिरहेको छु । निर्माता आफ्नो साइडबाट तयार हुनुहुन्छ । छायाँकार र अभिनेता साइन गरिसकेका छौं । स्क्रिप्ट र प्रोडक्सनको कुरामा मात्र अहिले छलफल चलिरहेको छ । हामीले हतार गर्न नचाहेका मात्र हौं ।'
उनले फिल्मबाट प्रदीप बाहिरिएको खबरको भने खण्डन गरे । भन्छन्, 'फिल्मबाट कोही इन र आउट भएको छैन । मसँग भेट हुँदा उहाँले फिल्म गर्न रेडी छु भन्नुभएको छ । फिल्म साइन गर्दा नै हामी यो प्रोजेक्टमा हतारिनु हुँदैन भनेका थियौं । तर, अहिले उहाँ हतारिनु भएको छ ।'
निर्देशक राउत ‘भैरवी’ लाई आफ्नो ड्रिम प्रोजेक्ट बताउँछन् । पहिलो फिल्म गर्नुभन्दा अगाडिको स्क्रिप्ट रहेको बताउँदै उनले कुनै कलाकारका कारण फिल्म बन्ने वा नबन्ने भन्ने नहुने बताए । 'यो फिल्मका लागि प्रदीपसँग टाइम भएन र गर्न नचाहे आपसी सहमतीमै कलाकार परिवर्तन हुन्छ', उनले स्पष्ट पारे ।

