सुन्दरी अभिनेत्री सारा सिर्पाली गत वर्ष प्रदर्शनमा आएको फिल्म 'पिंजडा ब्याक अगेन' पछि पुनः पर्दामा फर्किएकी छन् । उनको तेस्रो फिल्म ‘सुश्री सम्पति’ मंसिर २८ गते प्रदर्शनमा आउँदैछ । यसमा उनको हिरो निखिल उप्रेती होइन सलोन बस्नेत र विनोद न्यौपाने छन् ।
'हुकुम बक्सियोस्...' बोलको गीतका कारण चर्चामा रहेको यो फिल्मको प्रदर्शन मिति दिनप्रतिदिन नजिकिँदै गर्दा निर्माण टिमले प्रचारलाई चुस्त बनाउन तीन अफिसियल पोस्टर सार्वजनिक गरेको छ । पोस्टरमा फिल्मका तीन लिड कलाकार फिचर्ड छन् ।

निर्माण पक्षले फिल्ममा अभिनेत्री साराको जोडी सलोन कि विनोद ? अहिलेसम्म खुलाएको छैन । यसकारण पनि फिल्मप्रति दर्शकमा कौतुहलता बढेको छ । पोस्टरमा पनि यो सस्पेन्स यथावत छ । साराका लागि दुई अभिनेताबीच लडाइँ देख्न सकिन्छ । 'अर्धकट्टी' निर्देशक सुव्रत आचार्य फिल्मका निर्देशक हुन् ।
फिल्ममा सलोन, सारा र बिनोदसँगै राजाराम पौडेल, विशारद बस्नेत, सुनिता श्रेष्ठ ठकुरीलगायतका कलाकारहरुको अभिनय छ । साथमा अभिनेत्री प्रियंका कार्की विशेष भूमिकामा छिन् । रमेश त्वायना प्रस्तुतकर्ता रहेको ‘सुश्री सम्पत्ति’ को कथा निर्देशक सुव्रत आफैले लेखेका हुन् ।
फिल्मको निर्मातामा विज्ञान राई, नुनम सुब्बा र रमन सिलाकार रहेका छन् । अभिमन्यू 'निरवी' र निर्देशक आचार्यको डाइलग रहेको फिल्मको स्क्रिनप्ले अभिमन्यूकै रहेको छ । फिल्मलाई भरत रेग्मीले सम्पादन गरिरहेका छन् । फिल्मलाई राजधानीमा गोपालकाजी कायस्थ र मोफसलमा एफडी कम्पनीले वितरण गर्नेछ ।

