Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

मिरुना भन्छिन्, ‘फाइदाका लागि प्रदीपसँग काम गरेको होइन’

फिल्मीखबर, काठमाण्डौ, 2018/11/19
अभिनेत्री मिरुना मगरको सुन्दरतामा मोहित हुने धेरै छन् । फिल्मले भन्दा उनको चर्चा अचेल सुन्दरताका कारण बढी हुन्छ । अभिनेता सौगात मल्लसँग फिल्म 'लालपूर्जा' मा काम गरेपछि अभिनय यात्रालाई अगाडि बढाएकी उनी यस वर्ष प्रदर्शनमा आएको फिल्म 'रोज' मा स्टार अभिनेता प्रदीप खड्काको अपोजिटमा देखिइन् । 
 
दुर्भाग्य ! चलेका कलाकारसँग काम गरे पनि उनलाई 'हातमा लाग्यो शून्य' जस्तै भयो । दुबै फिल्म बक्सअफिसमा असफल भएका थिए । अझै अभिनेत्रीको रुपमा आफूलाई स्थापित गर्न लागिपरेकी उनलाई फिल्म 'रोज' ले भने धेरथोर राहत दियो । फिल्म असफल भएपनि उनको अभिनयलाई दर्शकले रुचाए । 
 
 
फिल्ममा समावेश 'फूल हैन....' गीतले पनि उनको लोकप्रियतामा थप बल पुर्‍याएको छ । धेरैले प्रदीपसँग काम गरेपछि मिरुनाको भाग्य बलेको ब्याख्या गर्छन् । हुन पनि , 'रोज' पछि उनीप्रति दर्शक र मिडियाको नजरियामा पनि भिन्नता आएको छ । यो स्टार कलाकारसँग काम गर्नुको उपलब्धि हो । 
 
फिल्म फ्लप नै भए पनि प्रदीपसँग जोडी बाँधिएपछि अहिले उनलाई लिन निर्माता/निर्देशकको भीड बढ्न थालेको छ । अब उनी नेपालकी पहिलो अभिनेत्री भुवन चन्द थापाले निर्माण गर्ने फिल्म ‘साइनो’ गर्दैछिन्, जसमा उनको जोडी नव-अभिनेता राजकुमारसँग बाँधिएको छ । नीता ढुंगानाको पनि लिड रोल छ । 
 
आइतबार राजधानीमा एक कार्यक्रमका बीच फिल्मको घोषणा गरिएको थियो । कार्यक्रममा अभिनेत्री मिरुनालाई पत्रकारले प्रदीपसँग काम गरेपछि भएको फाइदा सोधे । उनले आफ्नो फाइदाका लागि कुनै कलाकारसँग काम नगरेको बताइन् । भन्छिन्, 'फिल्म राम्रो लाग्यो अनि गरेँ । यो कलाकारसँग काम गरेर फाइदा होला भन्ने कहिल्यै सोचिनँ ।'
 
उनले अभिनेता प्रदीपको भने राम्रै गुनगान गाइन् । भन्छिन्, 'उहाँ एकदमै हम्बल, हार्ड वर्किङ हुनुहुन्छ । मैले उहाँबाट जे सिकेँ त्यो नै मेरो लागि सबैभन्दा ठूलो फाइदा हो भन्ने लाग्छ । उहाँ सक्रिय कलाकार हुनुभएको त्यसै होइन रहेछ । निकै हार्ड वर्क गर्नुहुन्छ ।' उनी फिल्म बक्सअफिसमा हिट वा फ्लप हुनु दर्शकको हातमा रहेको पनि बताउँछिन् । 
Most Visited News (monthly)