
कोरियोग्राफी फिल्डमा दशक लामो यात्रा विताइसकेकी रेनाशा वान्तवा राईले पहिलो पटक 'इन्टु मिन्टु लण्डनमा' मार्फत फिचर फिल्म निर्देशनमा हात हालिन् । फिल्मले घरेलु बजारबाटै लगानी रिकभर गर्न नसकेपनि इनिसियल बक्सअफिस आक्रामक रहेको थियो । रेनाशाको काम पनि तारिफ भएको थियो ।
फिल्मबाट अभिनेता धिरज मगरले डेब्यु गरेका थिए र उनको अपोजिटमा अहिलेकी 'हटकेक' साम्राज्ञी आरएल शाह थिइन् । डेब्यु फिल्ममा देखिएको अभिनय कौशल्यले अहिले मंगोलियन लुक्सका धिरजलाई लिएर फिल्म बनाउन चाहने निर्माता/निर्देशकको ठूलै भीड छ । डेब्यु फिल्म रिलिजकै ६ दिनमा उनलाई ६ फिल्मबाट अफर आएको बताइएको थियो ।
तर, उनले पुनः डेब्यु फिल्मकै टिमसँग फिल्म 'आई एम ट्वान्टिवान' गर्दैछन् । धिरजमाथि एकाधिकार जमाएको आरोप खेपिरहेकी निर्देशक रेनाशाले नै उक्त फिल्म निर्देशन गर्ने खबर छ । यस विषयमा निर्माण टिमले आधिकारिक जानकारी भने दिएको छैन । चर्चित ब्लगर धिरजको फिल्ममा आउनु अगावै राम्रो क्रेज थियो । फिल्म रिलिजपछि उनले फ्यान बेस झन् बढाएका छन् ।
गिनेचुनेका अभिनेता द्वय अनमोल केसी र प्रदीप खड्कालाई उनी 'थ्रेट' मानिन थालिएको छ । गएको महिनादेखि निर्देशक राई 'इन्टु मिन्टु लण्डन' को विदेश प्रदर्शनमा उनलाई साथ लिएर दौडिरहेकी छिन् । हाल उनी हङकङमा छिन् । 'इन्टु मिन्टु...' मा अभिनेत्री साम्राज्ञीसँग जोडी बाँधिएपनि 'आई एम ट्वान्टिवान' मा भने धिरजका लागि नयाँ अभिनेत्री खोजिँदैछ ।
हङकङ बसाईको क्रममा उनी फिल्मका लागि नायिका पनि पक्का गर्ने तयारीमा छिन् । अर्को वर्षको दशैंलाई प्रदर्शन मिति घोषणा गरिएको फिल्ममा धिरजसँग जोडी बाँध्न १८/२० वर्षको युवती चाहिएको रेनाशा बताउँछिन् । 'इन्टु मिन्टु...' को विदेश प्रदर्शन सकेपछि नयाँ फिल्मको स्क्रिप्टमा काम थाल्ने उनको तयारी छ ।

