अब सुपरस्टार अभिनेता वा अभिनेत्री लिएर फिल्म सफल हुन्छ भन्ने मान्यता विस्तारै तोडिदै गएको छ । बलिउडका तीन ठूला सुपरस्टार सलमान, शाहरुख र आमिर खान यसका गतिला उदाहरण हुन् । केही वर्ष अगाडिसम्म यी तीन खानका फिल्मले बक्सअफिसमा जबरजस्त कलेक्सन गर्ने गरेका थिए । तर, अहिले समय फेरिएको छ ।
सलमानको 'रेस ३', शाहरुख खानको 'जब ह्यारी मिट सेजल' र हाल प्रदर्शनरत आमिरको फिल्म 'ठग्स अफ हिन्दोस्तान' बक्सअफिसमा पत्तासाफ हुनुले अब कन्टेन्ट कमजोर भएका फिल्म जति ठूला सुपरस्टार भए पनि सफल नहुने उदाहरण पेश गरेको छ । नेपालमा पनि यो ट्रेन्ड सुरु भइसकेको छ ।
कथा भन्ने शैली कमजोर हुँदा राजेश हमालको 'सकुन्तला', रेखा थापाको 'मालिका', प्रदीप खड्काको 'रोज', अनमोल केसीको 'कृ', आर्यन सिग्देलको 'कायरा' ले दर्शकको राम्रो साथ पाएनन् । यसको अर्थ अब दर्शक सुपरस्टार होइन कन्टेन्ट खोज्न थालेका छन् । एकसमयका सुपरस्टार निखिल उप्रेतीकै कुरा गरौंन !
दशक अगाडि उनका फिल्म भनेपछि हलमा दर्शकको ठूलै भीड हुन्थ्यो । निर्माता/निर्देशकलाई लाग्थ्यो उनलाई लिएपछि फिल्म हिट हुन्छ । चर्को डिमान्ड र मागे जति दाम पाएपछि निखिलले पनि भटाभट फिल्म गरे । केही वर्ष उनका फिल्मले राम्रै राज गरे तर अहिले न उनका फिल्म चल्छन् न त उनलाई लिएर निर्माता जोखिम नै मोल्ने स्थितिमा छन् ।
.jpg)
उडिउडि हान्ने एकैखाले एक्सनबाट अब दर्शक आजित भइसकेका छन् । न भूमिका फरक छ न त कथावस्तुमा नै दम । निखिलका पछिल्ला दुई फिल्म 'रुद्र' र 'पिंजडा ब्याक अगेन' बक्सअफिसमा डिजास्टर हुनुको पछाडि कमजोर कथावस्तुलाई मानिन्छ । के यो कुरा उनले मनन् गरेका छन् ? नामले फिल्म चल्दैन भन्ने वास्तविकता त उनले अब पक्कै बुझेकै होलान् ।
अभिनेत्री संचिता लुईटेलसँग दोस्रो विवाह गरेपछि उनी लगभग ५ वर्ष हराए र, फिल्म 'भैरव' लिएर कमब्याक गरे । यसमा उनकै अभिनय, निर्माण र निर्देशन थियो । फिल्म राम्रै चल्यो । उनलाई लाग्यो अझै स्टारडम गुमेको रहेनछ । तर, दुर्भाग्य ! त्यसपछि उनले गरेका कुनै फिल्म चलेनन् । फिल्म नचलेपनि कामको भने उनलाई कमी भएन ।
गत वर्ष प्रदर्शनमा आएको फिल्म 'पिंजडा' पछि पर्दामा नदेखिएका उनले आफ्नै साली (संचिताकी बहिनी) लाई लिएर फिल्म 'कमिटमेन्ट' बनाउने घोषणा गरेका थिए । निर्देशन पनि उनले नै गर्ने बताइएको थियो । तर, आधाउधीमै निर्माताको खल्ती रित्तिएपछि फिल्मको छायांकन बीचमै रोकिएको छ । अब उक्त फिल्म बन्छ वा बन्दैन ? अन्यौलमा छ ।
यसबीच उनी यस वर्ष नयाँ फिल्ममार्फत दर्शकमाझ पुग्दैछन् । उनी अभिनीत फिल्म ‘भिलेन’ पुष २७ गते प्रदर्शनमा आउँदैछ । यसमा उनको प्रमुख भूमिका छ । अभिनेत्री द्वय निशा अधिकारी र शिल्पा पोखरेल उनको अपोजिटमा छन् । लगातार असफलतासँग लडिरहेका उनलाई यो फिल्म सञ्जीवनीको बुटी साबित होला वा नहोला ? प्रतिक्षा गर्नै पर्ने हुन्छ ।

