अभिनेता अनमोल केसीसँग फिल्म 'ड्रिम्स' गरेपछि चम्किएकी अभिनेत्री हुन् साम्राज्ञी आरएल शाह । डेब्यु फिल्ममा नै उनी अनमोलमाथि भारी परेकी थिइन् । यो फिल्मपछि उनले आफ्नो करिअरलाई फर्केर हेर्नु परेको छैन न त आत्मसमिक्षा नै गर्ने फुर्सद छ उनीसँग । डिमान्ड जतिजति चर्किदो छ पारिश्रमिकको मामलामा पनि उनी अग्रस्थानमा छिन् ।
'ए मेरो हजुर २', 'तिमीसँग' र 'इन्टु मिन्टु लण्डनमा' मा लगभग ५/७ लाख पारिश्रमिक बुझेकी उनले अभिनेता आर्यन सिग्देलसँग रोमान्स गर्न फिल्म 'कायरा' मा १० लाख बुझेकी थिइन् । गएको एक वर्ष अगाडिसम्म यो रकम नेपाली अभिनेत्रीहरुले बुझ्दै आएकोभन्दा धेरै थियो । अहिले उनी चलेका अभिनेतासरह पारिश्रमिक बुझ्ने अभिनेत्रीमा दरिन्छिन् ।
'ड्रिम्स' पछि उनको 'ए मेरो हजुर २' सुपरहिट साबित भएको थियो । 'तिमीसँग' र 'कायरा' औसत रहे । 'इन्टु मिन्टु...' को इनिसियल बक्सअफिस आक्रामक भए पनि घरेलु बजारबाटै लगानी सुरक्षित गर्न भने सकेन । ट्याटु काण्ड, गाउँले रोल रिजेक्टलगायतका कन्ट्रोभर्सीका कारण क्रेजमा केही दखल पुगेपनि उनको डिमान्डमा त्यसले रत्ति असर पुर्याएको छैन ।
.jpg)
दिनमा एकभन्दा बढी फिल्मको स्क्रिप्ट सुन्दै आएको बताउने साम्राज्ञीले गएको दुई हप्ता अगाडि 'मंगलम' फेम्ड निर्देशक नवल नेपालले निर्देशन गर्ने फिल्म साइन गरेकी थिइन् । फिल्ममा उनको जोडी अभिनेता पुष्पल खड्कासँग बाँधिएको छ । उनलाई यो फिल्म गर्न निर्मात्री पुनम गौतमले १५ लाख दिएकी छन् ।
करीब १० वटा फिल्म लत्याएर उनले उक्त फिल्म साइन गरेको खबर छ । उनी फिल्ममा अनुबन्ध भएको खबरले भन्दा बढी महँगो पारिश्रमिकले सबैको ध्यान खिचेको थियो । अब निर्देशक नेपालको फिल्म साइन गरेको दुई हप्ता वित्दै गर्दा उनले युवा निर्देशक हेमराज विसीको फिल्म साइन गरेकी छन् । शुक्रवार निर्माण टिमसँग उनको कागजी सम्झौता भएको छ ।
यो फिल्म पनि उनले १५ लाखमा नै गर्न राजी भएको खबर प्राप्त छ । पारिश्रमिकबाहेक उनलाई टिमले ड्रेसका लागि थप २ लाख छुट्याएको स्रोत बताउँछ । यो अनटाइटल प्रोजेक्टमा उनको जोडी स्टार अभिनेता प्रदीप खड्कासँग बाँधिएको छ । यसअघि विभिन्न फिल्ममा सँगै काम गर्ने चर्चा भए पनि यो कपललाई एउटै फिल्ममा ल्याउन हेमराज सफल भएका हुन् ।
२ हप्तामा २ फिल्म साइन गरेर ३० लाख हात पारेसँगै साम्राज्ञी नेपाली फिल्मकी सबैभन्दा महँगी अभिनेत्रीको सुचीमा सुचिकृत भएकी छिन् । हुनत, हालै अभिनेत्री पूजा शर्माले निर्देशक सुदर्शन थापाले निर्देशन गर्ने बाहिरी ब्यानरको फिल्म 'सम्हालिन्छ कहिले मन' गर्न १५ लाख बुझेकी थिइन् । अभिनेत्री नम्रता श्रेष्ठले पनि फिल्म 'प्रसाद' मा १५ लाख लिएको खबर छ ।

