.jpg)
लामो समयको चर्चापछि अन्ततः निर्देशक हेमराज विसीको नयाँ फिल्ममा अभिनेता प्रदीप खड्का र अभिनेत्री साम्राज्ञी आरएल शाहको जोडी बाँधिने पक्का भएको छ । शुक्रवार साँझ अभिनेत्री शाहले फिल्म साइन गरेकी छन् । केही हप्तादेखि निर्माण टिम र अभिनेत्रीबीच छलफल भइरहेको थियो ।
करीब १५ लाख पारिश्रमिकमा साम्राज्ञीले उक्त फिल्म साइन गरेको खबर प्राप्त छ । निर्देशक विसी आफू निर्देशित फिल्म 'दि ब्रेकअप' रिलिजपछि उक्त फिल्मको छायांकन आरम्भ गर्दैछन् । अभिनेता प्रदीप अहिले 'लभ स्टेशन' मा व्यस्त छन् भने साम्राज्ञी चाँडै निर्देशक नवल नेपालको फिल्म गर्ने तयारीमा छिन् ।
साम्राज्ञी र प्रदीपलाई लिएर यसअघि केही निर्माताले फिल्म निर्माण गर्न नखोजेका होइनन् । 'छक्का पञ्जा २', 'ए मेरो हजुर २', 'भैरवी', 'लभ स्टेशन' मा यो जोडीलाई लिन निर्माता/निर्देशकले ठूलै कसरत गरेका थिए । अन्ततः निर्देशक विसी यो जोडीलाई एउटै फिल्ममा ल्याउन सफल भएका छन् ।
साम्राज्ञीभन्दा अगाडि प्रदीपले यो फिल्म साइन गरेका थिए । दुई अभिनेता-अभिनेत्री अहिलेका 'हटकेक' हुन् । यसअघि यी दुईले 'डिसहोम' को एक विज्ञापनमा सँगै काम गरेका थिए । यसपछि उनीहरुलाई सिल्भर स्क्रिनमा हेर्ने दर्शकको ठूलो चाहना थियो, जुन अब पूरा भएको छ ।
मोस्ट डिमान्डेड दुई स्टारले पहिलो पटक स्क्रिन साझेदार गर्न लागेका कारण अब यो फिल्मको दर्शकमा व्यग्र प्रतिक्षा रहने पक्का छ । फिल्मको नाम भने अझै तय नभएको जानकारी प्राप्त छ । बैशाखबाट छायांकन सुरु हुने उक्त फिल्म रोम-कम जनराको बताइएको छ ।

