अभिनेता द्वय अनमोल केसी र प्रदीप खड्काको भनाईलाई आधार मान्ने हो भने स्टारडम बचाउन वर्षमा एउटा फिल्म मात्र गर्नुपर्छ । महिनैपिच्छे हलमा फिल्म रिलिज हुँँदा दर्शकमा स्टारप्रति रुची कम हुन थाल्छ, जुन एउटा कलाकारको करिअरका लागि सुखद होइन ।
तर, यहाँ डिमान्ड भएको बेला जति पनि फिल्म खेल्ने र महिनैपिच्छे हल छिर्ने अभिनेता-अभिनेत्रीको कमी छैन । एउटा गतिलो उदाहरणको रुपमा अभिनेता आर्यन सिग्देललाई लिन सकिन्छ । एकसमय उनको नामले नै फिल्मले राम्रो कमाई गर्थे अहिले के अवस्था छ त्यो सबैमाझ छर्लङ्ग छ ।
दयाहाङ राई, सौगात मल्ल अर्का उदाहरणका पात्र हुन् । गुणस्तरमा ध्यान नदिएर दामका लागि बग्रेल्ती फिल्म गर्दा अहिले उनीहरुको अभिनय करिअर ओझेल पर्दै गएको छ । अब आफ्ना सहपाठीको यात्रामा अभिनेता विपिन कार्की पनि देखिन थालेका छन् ।
(1)(1).jpg)
गत वर्ष फिल्म 'नाका' मा देखिएका उनी यस वर्ष फिल्म 'हरी' मा झुल्किए । बक्सअफिसमा दुबै फिल्म असफल भए पनि उनको अभिनयलाई दर्शक र समीक्षकले मुक्तकण्ठले प्रशंसा गरे । फिल्म छनौटमा चुजी मानिने उनी अब यस वर्ष दुई महिनाको अन्तरमा हल छिर्दैछन् ।
फिल्म 'प्रसाद' मंसिर २१ गते प्रदर्शनमा आउँदैछ भने अर्को फिल्म 'गोपी' माघ १८ मा आउने पक्का भएको छ । दुबै फिल्ममा उनी केन्द्रिय भूमिकामा छन् । उनकै वरिपरि फिल्मको मुल कथा घुमेको छ । 'प्रसाद' मा नम्रता श्रेष्ठसँग जोडी बाँधिएको छ भने 'गोपी' मा बर्षा राउत र सुरक्षा पन्त अपोजिटमा छन् ।
दुई महिनाको अन्तरमा दुई फिल्म रिलिज हुँदा विपिनलाई फाइदा र घाटा दुबै हुनसक्छ । 'प्रसाद' ले बक्सअफिसमा सफलता हासिल गरे त्यसको फाइदा 'गोपी' ले लुट्नेछ, जुन विपिनका लागि फाइदा हो । तर, 'प्रसाद' को कलेक्सन र 'वर्ड अफ माउथ' कमजोर भए त्यसको असर 'गोपी' माथि पनि पर्नेछ, र यो उनको करिअरका लागि निको होइन ।
दुई फिल्म दुई महिनाको अन्तरमा रिलिज हुँदैगर्दा विपिनले अर्को हुनसक्ने घाटालाई पनि विर्सनु हुँदैन । दर्शकले एउटै स्टारको फिल्म हेर्न किन फेरि हल जाने ? भन्ने सोचिदिए उनलाई अर्को समस्या आइपर्न सक्छ । यो भन्दा गलत नहोला कि 'प्रसाद' ले नै उनलाई घाटा र नाफाको हिसाब छर्लङ्ग पार्नेछ ।

