पछिल्ला केही वर्षयता हरेक वर्ष सय बढी फिल्म रिलिज हुने गरेका छन् । एकाध फिल्मले मुश्किलले सोलो रिलिजको अवसर पाउँछन्, त्यो पनि गिनेचुनेका ब्यानर र स्टार कलाकार भए मात्र । नभए अधिकांश फिल्म एक वा दुईभन्दा बढी फिल्मसँग भिडन्त गर्नुको विकल्प छैन ।
यो नियती शुक्रवारबाट प्रदर्शनमा आएका फिल्मले पनि बेहोर्नु परेको छ । यस हप्ताको शुक्रवार तीन नेपाली फिल्मले एकसाथ प्रदर्शन आरम्भ गरेका छन् । ‘दैलो’, ‘गुनगुन’ र ‘अनुग्रह’ यस हप्ताका लागि प्रदर्शनमा उत्रिएका फिल्म हुन् । तीनै फिल्म मल्टिप्लेक्समा लागेका छैनन् । यी मध्यमवर्गिय दर्शक लक्षित फिल्म हुन् ।

सामाजिक कथामा निर्मित फिल्म ‘दैलो’ लाई सुरेश उप्रेतीले निर्माण र निर्देशन गरेका हुन् । निर्देशक स्वयं फिल्मका प्रमुख कलाकार हुन् । उनका अलावा दुर्गा साउद, विकाश चापागाई, दीपक डोटेल, मुना प्रसाईंलगायतको अभिनय छ । अर्जुन उप्रेती तथा यसोदा उप्रेती फिल्म निर्माण गरेका हुन् ।
त्रिकोणात्मक प्रेमकथा वाचन गरेको फिल्म ‘गुनगुन’ लाई तीन दशकदेखि अभिनयमा सक्रिय कलाकार पुकार भट्टराईको निर्माण तथा निर्देशन गरेका हुन् । फिल्ममा सञ्चिता लुइँटेल, रविन्द्रप्रताप सेन, सुवास मेचे, नविन श्रेष्ठ, पुकार भट्टराई, गणेश जिसी, देशभक्त खनाल, अनु भण्डारीलगायतको अभिनय छ ।
यस्तै, कुमार केसीको निर्देशन रहेको फिल्म ‘अनुग्रह’ मा सुभाष मेचे, रोहण सेन्चुरी, अर्ती गुप्ता, सञ्जय न्यौपाने, राज गिरी, क्रिस्टिना रार्इ, दीपशिखा सिलवाललगायतको अभिनय छ । फिल्मले परिवारभित्रको कथालाई उठाएको छ । सन्तोष खवासले फिल्म निर्माण गरेका हुन् ।

