एकै मितिमा एकभन्दा बढी फिल्म रिलिज हुनु अब नौलो रहेन । गएको कात्तिक १६ गते पनि हलमा एकसाथ दुई प्रतिक्षीत फिल्म ‘चङ्गा चेट’ र ‘मालिका’ रिलिज भएको थियो । एकसाथ दुई बढी फिल्म रिलिज हुँदा प्रायः निर्माता-निर्माताबीच पानी बाराबार स्थिति पैदा हुन्छ ।

तर, ‘चङ्गा चेट’ निर्माता माधव वाग्ले र ‘मालिका’ अभिनेत्री, निर्देशक तथा निर्मात्री रेखा थापाबीच भने सम्बन्धमा कुनै खटपट देखिएको छैन । निर्माता वाग्लेले त फिल्म रिलिजभन्दा अगाडि ‘मालिका’ लाई पनि सफलताको शुभकामना दिएका थिए । रेखाले भने फिल्म रिलिजपछि यसको पैंचो तिरेकी छन् ।
बिहीवार बिहान निर्माता वाग्लेले फिल्मको विषयमा प्रकाशित एक अनलाइनको समाचार फेसबुकमा साझेदार गर्दै क्याप्सनमा लेखेका छन्, 'राम्रो कुरा आउँदा सबै दुःख विर्सिने रहेछ ।' उक्त पोस्टको तल अभिनेत्री रेखाले बधाई दिँदै खुसीको भाव व्यक्त गरेकी छिन् ।
उनले लेखेकी छिन्, 'कङ्ग्राचुलेसन मेरो दाई...भेरी ह्याप्पी फर यू ।' ‘चङ्गा चेट’ को प्रयोजनका लागि छापिएको नक्कली नोटका कारण झन्डै ४ महिना जेल जीवन विताएका निर्माता वाग्लेका लागि रेखाको बधाईलाई स्वान्त्वना र फिल्म राम्रो चलेकोमा बधाई दुई अर्थमा लिन सकिन्छ ।

एकै दिन हल छिरेपनि ‘मालिका’ भन्दा ‘चङ्गा चेट’ को कलेक्सन राम्रो छ । कथावस्तु गहकिलो भएपनि कथा भन्ने शैली कमजोर हुँदा रेखाको फिल्मले घरेलु बजारमा अपेक्षाकृत व्यापार गर्न सकेन । ‘चङ्गा चेट’ को भने 'वर्ड अफ माउथ' राम्रो छ । दुई हप्तामा फिल्मले २ करोडको आँकडा छोएको निर्माण टिमबाट जानकारी प्राप्त छ ।

