एक समय नेपाली फिल्ममा अभिनेत्री निरुता सिंहको राम्रै बोलबाल थियो । चर्को डिमान्ड थियो, लगालग फिल्म हिट थिए, पारिश्रमिक हिरोसरह लिन्थिन् तर नयाँ पुस्ताको बाक्लो आगमनसँगै उनको उपस्थिति पातलो हुँदै गयो । अन्ततः उनी नेपाली फिल्मबाट एक दशक पलायन जस्तै भइन् । भारतको मुम्बईमा परिवारसँग बस्न थालेको उनी दशक वितिसकेको छ ।
'दर्पण छाँया', 'लहना', 'बन्धकी', 'अजम्बरी नाता' लगायतका सुपरहिट फिल्मकी अभिनेत्री सिंह पछिल्लो फिल्म 'द गेम' बक्सअफिसमा असफल भएपछि नेपाली फिल्मबाट टाढिएकी थिइन् । तर, मनमा अभिनयको हुट्हुटीले उनलाई बेग्लै दुनियाँमा रमाउन भने दिन सकेन । नेपाल आउँदा पटक-पटक उनी भन्ने गर्थिन्, 'म आज जहाँ छु त्यो नेपाली फिल्म इन्डष्ट्रीकै कारणले छु । अझै पनि दर्शकको माया अथाह छ । राम्रो भूमिका पाए फेरि फिल्ममा फर्किन्छु ।'
उनले फिल्ममा फर्किन्छु भन्दाभन्दै बर्षौ विते तर त्यो दिन आएन । यसका अनेकन कारण छन् । अब उनलाई अभिनेत्रीमा लिएर निर्माता जोखिम मोेल्न चाहँदैनन् । यसको प्रमुख कारण दर्शकको स्वादमा आएको परिवर्तन हो । निरुताको पुस्ता होइन दर्शक अहिले साम्राज्ञीको पुस्तामा रमाइरहेका छन् । बरु उनलाई आमा, दिदी वा श्रीमतीको रोलमा अब दर्शकले स्विकार्न सक्छन् ।
उदाहरणका लागि बलिउड अभिनेत्री रानी मुर्खजी, काजोललाई लिन सकिन्छ, अहिले उनीहरु दर्शकको चाहना अनुसार फरक रोलमा देखिन थालेका छन् । समय अनुसार परिवर्तन हरेक चिजमा आवश्यक हुन्छ । निरुताले पनि यो बुझेकी छिन् । यसैले त यस वर्षको हिट फिल्म 'नाई नभन्नू ल ५' मा बाल कलाकार अनुभव रेग्मीको आमाको भूमिका निर्वाह गर्दै उनले नेपाली फिल्ममा कमब्याक गरिन् ।
(1).jpg)
छोटै भूमिका भएपनि दर्शकले उनलाई रुचाए । यो फिल्मको सफलतासँगै अब निरुताको नेपाली फिल्ममा व्यस्तता बढ्न थालेको छ । पिता विरामी भएका कारण उनले अभिनेता प्रदीप खड्काको फिल्म 'लभ स्टेशन' छाडिन् तर मंसिर १ गतेबाट छायांकन सुरु हुन लागेको फिल्म 'दाल भात तरकारी' गर्दैछिन् ।
यसमा उनको जोडी बरिष्ठ हास्यकलाकार हरिवंश आचार्यसँग बाँधिएको छ । बुधबारमात्र उनी उक्त फिल्मका लागि नेपाल ओर्लिएकी छन् । करीब २ महिना नेपाल बस्ने उनले देशका मुर्धन्य व्यक्ति आबद्ध फिल्ममा आफू जोडिन पाउनु भाग्यको कुरा रहेको बताउँछिन् । उनले यसअघि उक्त टिमसँग 'तँ त साह्रै विग्रिस् नी बद्री' फिल्म गर्न नपाएको पनि सम्झिइन् ।
बुधबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई स्वागत गर्न कलाकार किरण केसी र उनका छोरा सुदन केसी बुकेट बोकेर पुगेका थिए । एक घण्टा ढिलो नेपाल ओर्लिएकी उनले विमानस्थलबाट बाहिरिँदै गर्दा नेपाली भूमी छुँदै भनिन्, 'नेपाली भूमी टेकेपछि म सबैभन्दा बढी खुसी हुन्छु ।'
उनी केहीबेर सञ्चारकर्मीसँग पनि गफिइन् । उनले 'दाल भात तरकारी' मा आबद्ध हुन पाएको खुसी व्यक्त गर्दै भनिन्, 'हरिदाई, मदनदाई, किरणदाईको म मात्र होइन मेरो परिवार नै फ्यान हो । उहाँहरुसँग काम गर्न पाउँदैछु मेरो एउटा सपना पूरा भयो ।' उनले हरिवंश आचार्यको जोडी बन्न पाउँदा उत्साहित भएको बताइन् ।
उनको छेवैमा रहेका कलाकार केसीले निरुताको भूमिका फिल्ममा बलियो रहेको बताए । 'सुरुवातदेखि अन्त्यसम्म हरिवंश र निरुताको जोडी टुट्दैन । फिल्मको मेजर रोलमा नै उहाँहरु हुनुहुन्छ', उनले भने । फिल्ममा निरुताले एक गीतमा नृत्य गर्ने पनि उनले खुलाए । उनी भने धेरैपछि फिल्ममा नृत्य गर्न पाउँदा खुसी देखिन्थिन् ।
'मलाई राम्रो नाच्न त आउँदैन तर नाच्न भनेपछि रमाइलो लाग्छ', निरुताले सुनाइन् । दर्शकको चाहना अनुसार आफू 'दाल भात तरकारी' मार्फत प्रमुख भूमिकामा देखिन लागेको पनि उनी बताउँछिन् । निर्माता तथा कलाकार किरणले फिल्ममा निरुताको रोनाधोना नहुने बताए । 'एकदमै रमाइलो भूमिका छ' उनी अगाडि भन्छन्, 'अहिलेसम्मकै फरक भूमिकामा उहाँलाई दर्शकले देख्न पाउनेछन् ।'
निरुता भने आफू जुन भूमिकामा प्रस्तुत भएपनि दर्शकले रुचाएको बताउँदै 'दाल भात तरकारी' मा निर्वाह गर्न लागेको भूमिका पनि मन पर्नेमा विश्वस्त सुनिइन् । उनी आगामी दिनमा राम्रो फिल्मबाट अफर आए अभिनयलाई साथ लैजाने वाचा गर्छिन् । कुरालाई विट मार्दै उनी भन्छिन्, 'म कलाकार हुँ, मेरो कर्म अभिनय गर्नु हो । राम्रो फिल्म आए अवश्य गर्छु ।'

