चलेका कलाकार, गिनेचुनेका ब्यानर, पत्याएका निर्देशक र ब्रान्ड नाम भएका फिल्मले अब घरेलु बजार मात्रै कुृरेर बस्नु पर्ने अवस्था छैन । विदेश बस्ने नेपालीहरुको नेपाली फिल्मप्रतिको मोह बढ्नुले अचेल नेपाली फिल्मको बजार विदेशमा फराकिलो हुँदै गएको छ ।
(1).jpg)
एकाध फिल्मबाहेक विदेशमा नेपाली फिल्मको राम्रो डिमान्ड छ । 'छक्का पञ्जा ३', 'शत्रु गते', 'इन्टु मिन्टु लण्डनमा' लगायतका फिल्म यसका प्रमाण हुन् । गीतसंगीत र ट्रेलरले बनाएको हाइपले नै अहिले धेरै फिल्म रिलिज अगाडि नै विदेशमा बिक्री हुने गरेका छन् ।
यसको अर्को प्रमाण हो फिल्म ‘जात्रै जात्रा’ । २ वर्ष अगाडि प्रदर्शनमा आएको ‘जात्रा’ को सिक्वेल हो यो । अहिले फिल्मको धमाधम छायांकन भइरहेको छ । गएको शनिबार मात्र फिल्मको टिजर सार्वजनिक भएको थियो । टिजरले नै धूम मच्चाएपछि विदेशमा फिल्मको डिमान्ड बढ्न थालेको छ ।
विपिन कार्की, दयाहाङ राई, रबिन्द्र झा, रविन्द्र सिंह बाँनिया, बर्षा राउतलगायतका कलाकारहरुको प्रमुख भूमिका रहेको फिल्म फ्लोरबाटै अष्ट्रेलिया राइट्स बिक्री भएको छ । होर होइन होला इभेन्ट र पप अप इन्टरटेन्मेन्टले ३५ लाखमा फिल्मको अष्ट्रेलियामा प्रदर्शन अधिकार लिएको छ ।
निर्माता तथा कलाकार रबिन्द्र सिंह बानियाँले अन्य देशहरुमा पनि फिल्मको प्रदर्र्शनलार्ई लिएर छलफल भइरहेको बताए । ब्राण्डहरुसँगको सहकार्य र विदेश राइट्सको बिक्री आँकलन हेर्दा छायांकन नसकिँदै फिल्म नाफामा जाने निर्देशक प्रदिप भट्टराईको दाबी छ । यो फिल्म फागुन १७ मा रिलिज हुँदैछ ।

