Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

पारिश्रमिकमा साम्राज्ञीलाई पछ्याउँदै पूजा

फिल्मीखबर, काठमाण्डौ, 2018/11/14
एउटा फिल्म राम्रो चलेपछि कलाकारको पारिश्रमिक छोइसक्नु हुँदैन । विश्व फिल्म बजारमा नै यो ट्रेन्ड स्थापित भइसकेको छ । नेपाली फिल्मका कलाकार यसबाट अछुतो रहने त कुरै भएन । कति हल्लै हल्लामा महँगा हुन्छन् त कति देखाउनका लागि भए पनि महँगो पारिश्रमिकको डंका फुक्छन् ।
 
पछिल्लो छिमलका अभिनेता अनमोल केसी अहिलेका सर्वाधिक महँगा अभिनेता हुन् । अचेल उनी ४०/५० को हाराहारीमा एक फिल्मबापत पारिश्रमिक बुझ्ने गर्दछन् । अभिनेता प्रदीप खड्का दोस्रो नम्बरमा छन् । यसपछि पल शाह, सलिमान बनियाँ, पुष्पल खड्का, धिरज मगरलगायतको नाम आउँछ ।
 
अभिनेताको पारिश्रमिकको बारेमा बेलाबखतमा सञ्चारमाध्यममा गजबकै हेडलाइन बन्ने गरेका छन् । तर, अभिनेत्रीको हकमा भने महँगो पारिश्रमिकको खबर निकै कम सुन्न पाइन्छ । हुनत, विश्व फिल्म बजारको कुरा गर्ने हो भने एकाध अभिनेत्री बाहेक अधिकांशको पारिश्रमिक अभिनेताको भन्दा निकै कम हुन्छ । 
 
दशक अगाडि एक फिल्ममा अभिनेत्री माधुरी दिक्षीतले अभिनेता शाहरुख खानभन्दा धेरै पारिश्रमिक लिएको खबरले बलिउडमा ठूलै तरंग ल्याएको थियो । पछिल्लो पुस्ताका दीपिका पादुकोण, आलिया भट्ट, प्रियंका चोपडालगायतले पारिश्रमिकमा हिरोलाई समेत माथ दिने गरेका छन् । 
 
 
विस्तारै यसको छाँया नेपाली फिल्ममा पनि पर्न थालेकोे छ । केही वर्ष अगाडिसम्म १/२ लाख पारिश्रमिकमा खुम्चिने नेपाली अभिनेत्रीहरु अहिले अभिनेतासरह पारिश्रमिक बुझ्न थालेका छन् । ताजा उदाहरणका लागि अभिनेत्री साम्राज्ञी आरएल शाहलाई लिन सकिन्छ । हालै उनले अभिनेता पुष्पल खड्काको प्रमुख भूमिका रहने फिल्ममा काम गर्न १५ लाख बुझिन् । 
 
यसअघि अभिनेता आर्यन सिग्देल निर्मित तथा अभिनीत फिल्म 'कायरा' मा उनले १० लाख बुझेकी थिइन्, जुन आर्यनले यसअघिका फिल्ममा लिँदै आएको पारिश्रमिकभन्दा बढी थियो । यसरी हेर्दा साम्राज्ञी अभिनेतासहर पारिश्रमिक बुझ्ने अभिनेत्रीमा दरिन्छिन् । अब उनको लयमा अर्की अभिनेत्री पूजा शर्मा देखिएकी छिन् ।
 
अहिले साम्राज्ञी र पूजालाई प्रतिस्पर्धी अभिनेत्री भन्ने गरिन्छ । यसकारण पारिश्रमिकमा तलमाथि हुने त कुरै भएन । हालै अभिनेत्री पूजाले सुदर्शन थापाले निर्देशन गर्ने तर बाहिरी ब्यानरको फिल्म 'सम्हालिन्छ कहिले मन' मा १५ लाख बुझिन् । नपत्याउलान् भनेर उनले एग्रिमेन्ट पेपर नै सार्वजनिक गरेकी थिइन् । 
 
दुई अभिनेत्रीको नामले नै दर्शक हलसम्म पुग्ने माहोल बनिसकेका कारण अचेल निर्माता १०/१५ लाखको मुख हेर्दैनन् । तर, के साम्राज्ञीले १५ लाख बुझेकै कारण पूजा पनि महंगी भएकी हुन् ? स्रोतका अनुसार, 'सम्हालिन्छ कहिले मन' गर्न पूजा १० लाखमा राजी भएकी थिइन् । किनकी, साम्राज्ञीले 'कायरा' मा १० लाख बुझेकी थिइन् । 
 
तर, लगत्तै साम्राज्ञीले नयाँ फिल्ममा १५ लाख बुझेको खबर बाहिरियो । पूजाले पनि ५ लाख बढाइन् । कतै कागजमा एउटा देखाएर हातमा परेको वास्तविक पारिश्रमिक अर्कै त छैन ? यो त कि दिने कि लिने नै जान्दछन् । जे भएपनि कलाकारको पारिश्रमिक बढ्नु चाहिँ राम्रो कुरा हो । 
Most Visited News (monthly)