आफ्नो बोलीमा अडिक रहन नसक्ने अभिनेतामा पर्छन् आर्यन सिग्देल । फिल्म 'नोभेम्बर रेन' रिलिजपछि अब बाहिरी ब्यानरको फिल्म नगर्ने र गरे पनि आफ्नो ब्यानरसँग सहकार्य गरे मात्र फिल्म गर्ने उनले घोषणा गरेका थिए । तर, करिअर ओरालो लाग्न थालेपछि उनको बोली फेरिएको छ । नफेरियोस् पनि कसरी टिक्नै गाह्रो भएपछि ।
यस वर्ष प्रदर्शनमा आएको फिल्म 'कायरा' ले आधाउधी लगानी पनि उठाउन नसकेपछि उनलाई ठूला तनाव आइपरेको छ । गिनेचुनेका ब्यानरले पत्याउन छाडे, आफ्नो ब्यानरसँग सहकार्य गरेर फिल्म बनाउन कुनै निर्माता तयार छैनन् अनि आफैंले बनाएको फिल्म पनि चल्न छाडे । आर्यनलाई अहिले पर्नु पिर परेको छ ।
.jpg)
एक समयका सर्वाधिक डिमान्डेड र महँगा अभिनेता अहिले कहिले हातमा फिल्म पर्ला र गरुला भन्ने स्थितिमा छन् । एकाएक स्टारडमले बाटो मोडेपछि चकलेटी हिरोले आफ्नो बोली विपरित बाहिरी ब्यानरको फिल्म 'हजार जुनी सम्म' साइन गरे । विकासराज आचार्यले निर्देशन गर्ने यो फिल्ममा उनले १३ लाख पारिश्रमिक बुझेको चर्चा छ ।
मंसिर दोस्रो साताबाट छायांकन सुरु हुने फिल्ममा उनी प्रमुख भूमिकामा छन् । उनको जोडी अभिनेत्री प्रियंका कार्कीसँग बाँधिएको छ । यसअघि यी दुईले 'कलिउड', 'छक्का पञ्जा', 'माला' र 'नाईँ नभन्नू ल ३' मा सँगै काम गरेका थिए । स्वस्तिमा खड्का पनि फिल्ममा प्रमुख भूमिकामा छिन् । अकी प्रधानसँग उनको जोडी बाँधिएको छ ।
अभिनेता आर्यन अहिले उक्त फिल्मका लागि दाह्रीको स्यारसुसार गर्न तल्लिन छन् । करीब डेढ महिनादेखि उनले दाह्री काटेका छैनन् । अहिले उनलाई बाक्लो दाह्रीका कारण ठम्याउन पनि मुश्किल हुन्छ । स्रोतका अनुसार, उनी उक्त फिल्ममा लभर ब्वाईको भूमिकामा हुने छैनन् । कतै पिताको भूमिका त होइन ? यसका लागि भने फिल्मको नै प्रतिक्षा गर्नु पर्ने हुन्छ ।

